रुपन्देहीमा हुँदैछ २२६ पहलवानको भीडन्त

Post Date : November 24, 2016 | 4:02 pm

लुम्बिनी, ९ मङ्सिर । रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् ।

आगामी मङ्सिर २६ देखि २९ सम्म हुने उक्त प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी २२६ जना पहलवानको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

गत वर्षदेखि सुरु गरिएको उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएका पहलवान बाबा केशवदास (नागा बाबा), शङ्कर थापा, राजेन्द्र यादवलगायतका चर्चित पहलवानको सहभागिता रहने बजरङ्ग दलका अध्यक्ष जयप्रकाश धवलले बताउनुभयो ।

त्यस्तै भारतका उमाशङ्कर यादव, भुरा सिंह र पथ्थर सिंह पहलवानको समेत प्रतियोगितामा सहभागिता रहने अध्यक्ष धवलले बताउनुभयो ।

उहाँका अनुसार, कुस्ती प्रतियोगितासंगै यस पटक भोजपुरी बिरह कार्यक्रम पनि आयोजना गरिने छ । उक्त कार्यक्रममा भोजपुरी गायक बिएम सहानी, हरिकेश यादव र सुनिता यादवलगायतका कलाकारको प्रस्तुति रहने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुनेलाई पल्सर १५० सिसीको मोटरसाइकल, प्रथमलाई रु ५० हजार १००, द्वितीयलाई एलसिडी टिभी र तृतीयलाई साइकल तथा रु पाँच हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि करिब रु १२ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्च स्थानीयको पहलमा उठाइएको पनि अध्यक्ष धवलले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *