रु सतचालिस लाख अनुदान वितरण

Post Date : July 10, 2016 | 3:18 pm

विराटनगर, २६ असार । युवालाई पशुपालनतर्फ आकर्षित गर्न जिल्ला पशु सेवा कार्यालयले किसानलाई रु ४७ लाख अनुदान रकम वितरण गरेको छ ।

चालु आवमा कार्यालयले युवा लक्षित व्यावसायिक गाईभैँसी प्रवर्द्धन, व्यावसायिक बाख्रा प्रवर्द्धन र पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत २५ जना युवा किसानलाई उक्त रकम वितरण गरिएको हो । व्यावसायिक गाईभैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत साना फार्म स्थापनाका लागि १० किसानलाई रु एक लाख ४० हजारका दरले रकम वितरण गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख सुशील अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी मझौला आकारको फार्म सुदृढीकरणका लागि तीन जना किसानलाई रु तीन लाखका दरले रु नौ लाख वितरण गरिएको छ । सोही कार्यक्रमअन्तर्गत ठूलो फार्मको यान्त्रीकरण कार्यक्रमका लागि प्रतिकिसान रु चार लाख अनुदान रकम उपलब्ध गराइएको छ ।

यस्तै व्यावसायिक बाख्रा प्रवर्द्धन कार्यक्रमअन्तर्गत चार किसानलाई रु ६ लाख वितरण गरिएको छ । पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत सात किसानलाई रु १४ लाख अनुदान रकम उपलब्ध गराइएको छ । अनुदानप्राप्त किसानले सो व्यवसाय तीनदेखि पाँच वर्ष बन्द वा छोड्न नपाउने व्यवस्था गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *