लघु तथा साना उद्योग ग्राम स्थापना गरिने

Post Date : June 9, 2016 | 9:49 pm

काठमाडौँ, २७ जेठ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लघु तथा साना उद्योग ग्राम स्थापना गर्ने भएको छ ।

महासङ्घको यही जेठ २५ गते भएको २३ औँ महाधिवेशन तथा २० औँ राष्ट्रिय महिला सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद गिरीले वर्तमान कार्यसमितिले औद्योगिक नीति २०६७ अनुरुप औद्योगिक व्यवसाय ऐन जारी गराउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पबाट क्षतिग्रस्त १७ हजारभन्दा बढी साना उद्योगलाई प्रतिउद्योग रु आठ लाख अनुदान उपलब्ध गराउन पनि पहल गर्छौँँ ।”

उहाँले भूकम्प र आपूर्ति असहजताका कारणले पीडित उद्योगको पुनःस्थापनाका लागि सरकारद्वारा घोषित रु एक खर्बमध्ये कर्जा कार्यक्रम बापत लघु तथा साना उद्योगलाई कम्तीमा रु ५० अर्ब कर्जा प्रवाह गर्न पहल गरिने बताउनुभयो ।

यस्तै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिकालाई तीव्रताका साथ लागू गर्न दबाब दिइने जानकारी उहाँले दिनुभयो ।

त्यस्तै घरेलु तथा साना उद्योगको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न प्राथमिकताका साथ अन्तर्राष्ट्रिय व्यापार मेलामा उद्योगीको सहभागिता बढाउन पहल गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रयोग गरी उद्योग सञ्चालन गर्न चाहने उद्यमीलाई पाँच किलोवाटसम्म जडान क्षमता भएको सौर्य ऊर्जा प्रणाली स्थापना गर्दा ५० प्रतिशत अनुदानका लागि सरकारसँग माग गर्ने अध्यक्ष गिरीले बताउनुभयो ।

महिला उद्यमशीलता विकास कोषमा यस पटकको बजेटमा रु १८ करोड विनियोजन भएकामा यसलाई ५० जिल्लामा विस्तार गर्न पहल गरिने महासङ्घले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *