ललितपुरमा पचास वर्षपछि पुनः नापी सुरु

Post Date : August 25, 2016 | 6:41 pm

ललितपुर, ९ भदौ । जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ ।

विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन । जग्गाको स्वरुप सयौँ गुणा परिवर्तन हुँदासमेत पुनः नापी हुन नसकेको हो । सामान्यतया जग्गाको स्वरुप ६० प्रतिशत परिवर्तन हुँदा फेरि नापी गर्नुपर्ने मान्यता छ । लामो समयसम्म पुनः नापी हुन नसक्दा जग्गाको कित्ता ५÷६ सय प्रतिशतसम्म परिवर्तन भइसकेको छ ।

ललितपुरका सँैवु, चक्रपथ वरपरका स्थानमा पुनः नापी भइरहेको छ । इमाडोल, टिकाथली लगायतका स्थानमा भर्खरै मात्रै नापी सकिएको छ । विशेष गरेर जग्गाको स्वरुप धेरै परिवर्तन भइरहेका ठाउँमा पुनः नापी भइरहेको प्रमुख नापी अधिकृत बुद्धिमान जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “६० प्रतिशत परिवर्तन हुँदा नापी गर्ने गरिएपनि यी स्थानमा त्यो भन्दा कयौँ गुणा परिवर्तन भइसकेको छ ।”

गत वर्ष नापी भएकामा यस वर्ष पनि त्यसले निरन्तरता पाउने जैसी बताउनुहुन्छ । वर्षाका समयमा नापी हुन नसकेकोमा अहिले त्यसले समेत निरन्तरता पाइरहेको छ । उहाँ भन्नुहुन्छ, “अभियानकै रुपमा अघि बढाउन नसकिए पनि हामीले निरन्तरता दिइरहेका छौँ ।” लामो समयपछि हुन लागेकाले पनि धेरै खालका कठिनाइ रहेका छन् । नापी आफैँमा जटिल काम भएको उहाँ बताउनुहुन्छ ।

सानो क्षेत्रफल जग्गाको समेत मूल्य चर्को हुँदा कतिपय जग्गाधनीले चासो बढी देखाउने गरेका छन् । उहाँ भन्नुहुन्छ, “बाटो अलिकति पर हुँदा पनि आफ्नो ठूलो मूल्यको जग्गा बच्ने सोच्छन् ।”

समय र जग्गाको भाउका कारणले जग्गाधनीको चासो बढेको हो । कतिपय जग्गाधनीले भने नाप–नक्सा हुँदासमेत उपस्थित नहुने गर्छन् । जग्गाधनी उपस्थित हुँदा फिल्डमा नै विवाद टुङ्गिने भएपनि नहुँदा लम्बिने गर्छ । उहाँ भन्नुहुन्छ, “कतिपय जग्गाधनीले पुर्जा, नक्सा आफूसँग छँदैछ भन्ने सोच्ने पनि छन् ।” पहिले चासो नदेखाए जस्तो गर्नेहरु पनि पछि आफैँ विवाद झिक्ने गर्छन् । जग्गाधनी पछि आफ्नो अनुकूल समयमा जग्गा नाप्न भन्ने गरेपनि कार्यालयले त्यो समयमा नभ्याउने उहाँ बताउनुहुन्छ ।

ललितपुरका इमाडोल, सैँवु, धापाखेल, सुनाकोठी, टिकाथली लगायतका नगर नजिकका ठाउँमा जग्गाको स्वरुप परिवर्तन भइरहेका छन् । विसं २०२१÷२२ सालमा नापी हुँदा इमाडोल गाविसमा चार हजार कित्ता जग्गा थियो । अहिले पुनः नापी हुँदा १८ हजार जग्गा कित्ता बनेका छन् । इमाडोलमा चारसय प्रतिशतभन्दा बढी परिवर्तन भएको पुनः नापीले देखाएको छ । अहिले नापी भइरहेका ललितपुर उपमहानगरपालिका अन्तर्गतका क्षेत्र, सैँवु, इमाडोल, टिकाथलीलगायत सबै ठाउँको उत्तिकै मात्रामा परिवर्तन भइरहेको छ ।

उहाँ भन्नुहुन्छ, “पहिले खेतले भरिएको देखिने भएपनि अहिले तीनै ठाउँ घरले भरिएको नक्साले देखाएको छ ।” द्वन्द्वकालमा कुनै पनि जिल्लामा जग्गा नापीको काम अघि बढ्न सकेको थिएन । विभिन्न जिल्लामा सुरु भए पनि सुरक्षाको कारण अघि बढ्न सकेन ।

त्योभन्दा पहिले समेत जग्गाको नापी गर्न सम्बन्धित निकायको ध्यान पुग्न सकेको थिएन । पछिल्लो समयमा नापी विभागले अछाम, अर्घाखाँचीजस्ता द्वन्द्वकालमा रेकर्ड नष्ट भएका जिल्लामा पुनः नापीलाई प्राथमिकता दिएको छ । (सञ्चिता घिमिरे)रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *