लुम्बिनी विकास बैंक लिमिटेड को नामबाट एकीकृत कारोबार शुभारम्भ

Post Date : July 9, 2017 | 6:44 pm

काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको “ख” वर्गको इजाजतपत्रप्राप्त भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडमा राष्ट्रियस्तरको “ग” वर्गको इजाजतपत्रप्राप्त लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड गाभिई आज २०७४ असार २५ गतेबाट लुम्बिनी विकास बैंक लिमिटेडको नामबाट विधिवत् एकीकृत कारोवार शुभारम्भ भएको छ । दरवारमार्ग स्थित होटल डेल अन्नपूर्णमा भएको एक बिशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले लुम्बिनी विकास बैंक लिमिटेडको विधिवत समुद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको अन्य विशिष्ट अतिथिहरु, नियमनकारी निकायका अतिथिहरु, बैंक/वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु, संचालक तथा पूर्व संचालकहरु, शेयरधनीहरु, कर्मचारीहरु लगायत अन्य विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको जानकारी बैंकद्वारा जारी प्रेस विज्ञप्तीमार्फत दिइएको छ ।

गाभिए पश्चात बनेको लुम्बिनी विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान काठमाडौँ म.न.पा., वडा नं.३० (साविक वडा नं. ३३), डिल्लीबजारमा रहेको छ । विकास बैंकको संचालक समिति हाल ६ सदस्यको रहेको छ भने समितिको अध्यक्षमा सुशिल राज पराजुली रहनुभएको छ । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले नै सम्हाल्नु भएको पनि उक्त प्रेस विज्ञप्तीमा जनाइएको छ ।

गाभिए पश्चात बनेको लुम्बिनी विकास बैंक लिमिटेडको तत्काल चुक्ता पुँजी रु.२ अर्ब ८८ लाख पुगेको छ भने रु.३६ करोड ३० लाख पूँजी समायोजन जगेडा कोषमा रहेको छ । मर्ज सम्पन्न भए लगत्तै चुक्ता पूँजीको १०% का दरले हकप्रद शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको चुक्ता पूँजी पुरयाइने छ । यसैगरी गाभिए पश्चात संस्थाको कुल निक्षेप रु.१७ अर्ब, कर्जा रु.१५ अर्ब ५८ करोड पुगेको छ भने देशभर ४९ वटा शाखा सञ्जाल तथा १२ वटा आफ्नै एटिएमबाट २१ जिल्लामा बैंकिङ्ग सेवा सुविधा उपलव्ध हुनेछ ।

दुवै संस्था एक आपसमा गाभिए पश्चात थप सबल एवं सुदृढ संस्थाको रुपमा वित्तीय बजारमा आएको लुम्बिनी विकास बैंकले ग्राहकहरुको सुविधाको लागि आफ्नो शाखा सञ्जाल प्रयोग गरी थप सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न कटिवद्ध रहेको छ । देशभर छरिएर रहेको पूँजीलाई उत्पादनशील क्षेत्रमा लगाई समग्र देशको आर्थिक प्रगतिको लागि योगदान पुरयाउँदै वित्तीय पहुँच नपुगेका ग्रामिण क्षेत्रमा थप शाखाहरु विस्तार गर्ने नीति विकास बैंकको रहेको छ । ग्राहकहरुको सन्तुष्टि नै बैंकको लक्ष्य रहेकोले यसैलाई आत्मसाथ गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा र लगानीकर्तालाई उचित प्रतिफल दिने लक्ष्य सहित आगामी दिनमा बैंक अगाडि बढ्ने जानकारी समेत उक्त प्रेसविज्ञप्तीमार्फत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *