वनमा आधारित उद्यमलाई प्रोत्साहन गरिने

Post Date : May 8, 2016 | 6:56 pm

काठमाडौँ, २६ वैशाख । सरकारले वनस्पति, गैरकाष्ठ वन पैदावार तथा जडीबुटी प्रजातिको अध्ययन अनुसन्धान, संरक्षण, खेती तथा उत्पादन वृद्धि र प्रशोधन केन्द्र स्थापना गरी वनमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रममा वन संरक्षण, व्यवस्थापन, दिगो उपभोग र स्वच्छ वातावरणका लागि समुदायमा आधारित वन व्यवस्थापन प्रणाली सुदृढ गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा जैविक विविधताको संरक्षण, वातावरणीय सेवा र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्ने तथा काठको उत्पादन र उपयोगमा मुलुकलाई आत्मनिर्भर बनाइ आयात प्रतिस्थापन गर्ने उल्लेख छ ।

सरकारले खेर गइरहेको जग्गामा कृषि, निजी र सामुदायिक वनको क्षेत्र तोकी कार्यक्रम सञ्चालन गर्ने तथा सामुदायिक वन र सहकारीमार्फत जनसहभागिताको क्षेत्र फराकिलो तुल्याउँदै वनबाट रोजगारीका अवसर सिर्जना गर्ने नीति तथा कार्यक्रममार्फत सावर्जनिक गरेको छ ।

भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि काठको उत्पादन तथा आपूर्ति व्यवस्था गर्ने र जैविक विविधतायुक्त, पर्यावरणीय दृष्टिले अत्यन्त महत्वपूर्ण जलाधार एवम् सिमसार क्षेत्रलगायत चुरे क्षेत्रको संरक्षणको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले वन क्षेत्रको अतिक्रमण र आगलागी नियन्त्रण गर्न स्वीकृत रणनीति कार्यान्वयनका साथै आवश्यक कार्ययोजना तयार गर्ने पनि जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *