वाणिज्य बैंक पुनःस्थापना

Post Date : August 13, 2016 | 9:18 pm

रामपुर (पाल्पा), २९ साउन । द्वन्द्वका समयमा विस्थापित भएको पाल्पाको राष्ट्रिय वाणिज्य बैंक हार्थोक शाखा आज पुनःस्थापना भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंकको उद्घाटन गर्दै देशको मौद्रिक नीतिअनुसार वित्तीय संस्थाले कृषकलाई पाँच प्रतिशत व्याजमा ऋण उपलब्ध गराउँदै आएकाले यसको उपयोग गर्न कृषकलाई आग्रह गर्नुभयो ।

मेहनत गर्नसके स्वदेशमै रोजगारीका प्रशस्त ठाउँ रहेको बताउँदै उहाँले विदेशी मुलुकमा दुःख पाएर काम गर्नुभन्दा स्वदेशमै कृषि उत्पादनमा लाग्न युवा वर्गलाई अनुरोध गर्नुभयो ।

बैंकको शाखा पुनःस्थापनापछि पाल्पाका भैरवस्थान, खस्यौली, देउराली, बन्दीपोखरा, पालुङ मैनादीलगायत गाविस र गुल्मी, अर्घाखाची जिल्लाका केही गाविसका स्थानीयवासी लाभान्वित हुनेछन् ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई वर्षमा राष्ट्रिय वाणिज्य बैंकको ७५ जिल्लामा शाखा पुरयाउने र यस वर्ष २० वटा शाखा स्थापना गराउने लक्ष्य रहेको बताउनुभयो । द्वन्द्वका समयमा विस्थापित भएको पाल्पाको रामपुर शाखा यसअघि नै पुनःस्थापना भइसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *