विकास बैंक र वाणिज्य बैंकबीच वास्तविक प्रतिस्पर्धा छ ।

Post Date : December 1, 2016 | 5:19 pm

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको नाफामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट मान्नुपर्ने अवस्था नै छ । यसपालि पहिलो त्रैमासमा दशैं पर्न गयो । त्यसले गर्दा पनि असुली प्रक्रिया त्यति प्रभावकारी हुँदैन । त्यति हुँदाँहुदै पनि यो त्रैमासिकमा हामीले झण्डैझण्डै छ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छौं । त्यो सकारात्मक नै मान्नु पर्छ । हाम्रो लक्ष्य साढे सात करोड जति खुद मुनाफा पुरयाउने लक्ष्य थियो । थप एक डेढ करोड अहिले उठिसकेको छ । त्यो हिसाबमा हामीले सोचेकै जस्तो मुनाफा गरेका छौं ।

मर्जरपछि कर्मचारी मिलानमा त्यति सहज हुँदैन भनिन्छ । तपाईको बैंकमा दुई संस्था मर्ज भइसकेका छन् । कर्मचारी समस्या कत्तिको आएको छ ?

हाम्रोमा मर्जरपछि कर्मचारीसँग सम्बन्धित कुनै पनि समस्या आएको छैन । हामीले मर्जरको एमओयू गर्ने बित्तिकै तीनवटै संस्थाका कर्मचारी एक आपसमा मिलानका लागि आदान–प्रदान गर्ने काम सुरु गरयौं । त्यसले गर्दा सबैले घुलमिल गर्ने अवसर पाए । हामीले नीतिगत रुपमा पनि सबै संस्थाका कर्मचारीहरु समान हुन् भन्ने किसिमको व्यवहार गरयौं । क्षमता अनुसारको जिम्मेवारी पनि दियौं । त्यसले गर्दा तीनवटै संस्थाका कार्मचारीलाई हामी एक हौं भन्ने भावना विकास भयो ।

०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुरयाउने कस्तो योजना छ ?

हाम्रो चुक्ता पूँजी असार मसान्तमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुग्छ । यसपालि हामीले २४ प्रतिशत बोनस शेयर दिएपछि हाम्रो चुक्ता पूँजी १ अर्ब ४२ करोड हुन्छ । त्यसमा साधारण सभाबाट ६० प्रतिशत अर्थात १० शेयर बराबर ६ हकप्रद शेयरको प्रस्ताव पारित हुने बित्तिकै हाम्रो चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी हुन जान्छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुरयाएर बजारमा ठूलो विकास बैंकको रुपमा रहन्छौं ।

बैंकको मुनाफा बढाउन के कस्तो योजना ल्याउँदै हुनुहुन्छ ?

अहिले प्रतिष्पर्धात्मक बजार छ । केहि समयअघिसम्म कर्जा प्रवाहमा समस्या थियो । ऋण लिन ग्राहक नै आउँदैन थिए । अहिले ऋण लिने ग्राहक आइरहेका छन्, डिपोजिट छैन । यो बजार अति उतार–चढावयुक्त छ । केही समययता ३–३ वा ६ महिनामा बजारको स्वरुपहरु परिवर्तन भइरहेका छन् । त्यो भन्दा पनि बढी तानातान भयो । हिजोको दिनमा ग्राहक तानातान थियो । हाम्रा ग्राहकहरु वाणिज्य बैंकहरुले तान्ने क्रम निक्कै बढी थियो । एकै चौमासिकमा ५५ देखि ६० करोड रुपैयाँको कर्जा तानेर लैजान्थे । अब अहिले भने निक्षेपका ग्राहक तान्न थाले । वाणिज्य बैंकहरुले औसतमा करिब साढे सात प्रतिशतदेखि आठ प्रतिशत ब्याजदर दिन थाले । त्यो विकास बैंकका डिपोजिटरहरुलाई तान्ने प्रयास हो । यी प्रतिष्पर्धा भई नै रहन्छन् । त्यति हुँदाहँुदै पनि हामीले सकारात्मक वृद्धिका अवस्था भने हासिल गररिहेकै छौं । अहिले कस्तो देखिएको छ भने नयाँ–नयाँ क्लाइन्टहरूलाई वाणिज्य बैंकहरूले नपत्याइदिने, ती डेभलपमेन्टमा आउने, हामीले हुर्काइसकेपछि ठ्याक्क वाणिज्य बैंकहरुले तानेर लाने । यसले बजार सन्तुलन र विस्तारमा असर पारेको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको नाममा परिवर्तनबारे चर्चा छ, के भएको हो ?

मर्जर गर्ने क्रममा नेपाल राष्ट्र बैंकबाट सिद्धार्थ डेभलपमेन्ट बैंकको नाम अन्य बैंक वित्तीय संस्थासँग मिल्दोजुल्दो भएकोले आगामी साधारण सभाबाट नाम परिवर्तन गर्नु भनेर निर्देशन जारी भएको छ । त्यो निर्देशन अनुसार नै हामीले यो २४ गतेको साधारण सभामा बैंकको ५ वटा नामहरू परिवर्तनका लागि प्रस्तावमा लगेका छौं । प्रस्ताव पारित भयो भने नाम परिवर्तन हुन्छ । तर अहिलेसम्म हाम्रा केही शेयरधनीहरुले त्यो कुरामा गम्भीर चासो राख्नु भएको देखिएको छ । केही शेयरधनीहरूले भने कम्पनी ऐनअनुसार हामी पुरानो संस्था भएकाले अर्कोको नाम फेरिनुपर्ने हो भन्ने तर्क पनि गर्नु भएको छ । व्यवस्थापन र सञ्चालक समितिले नाम परिवर्तन गर्ने प्रस्ताव गरिसकेको छ । साधारण सभाबाट पास भयो भने तत्कालै नाम परिवर्तन हुनेछ, कथम कदाचित साधारण सभाबाट पारित हुन सकेन भने चाहिँ त्यतिबेला बल्ल छलफल गर्ने अवस्थामा हामी हुन्छौं ।

वित्तीय बजारमा अस्वस्थ प्रतिष्पर्धाबारे के भन्नु हुन्छ ?

यसमा मुख्य भूमिका नियामक निकायले नै चाल्नुपर्ने बेला आएको छ । विकास बैंकका ग्राहक तान्न वाणिज्य बैंकहरूले चालिरहेका हथकण्डाहरू अस्वस्थकर छन् । नियामक निकायका नियम पालनाका सन्दर्भमा समेत उनीहरू खुकुलाजस्तै देखिएका छन् । उदाहरणका लागि धितो नै बिना पनि लगानीका लागि पत्राचार भइरहेको छ । त्यो अवस्थामा विकास बैंक छैनन् ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले संस्थागत सुशासन र निर्देशन पालनालाई पहिलो प्राथमिकता राखेको छ । नेपाल राष्ट्र बैंकले भर्खरै पठाएको वासताल स्वीकृतिको चिठी हेरौँ या निरिक्षण प्रतिवेदनहरु हेरौँ सुशासनसँग सम्बन्धित एउटा पनि इस्यु छैन हामी त्यति सचेत छौं ।

वास्तवामा विकास बैंहरूबीच आपसमा प्रतिस्पर्धा छैन, विकास बैंक र वाणिज्य बैंकबीच प्रतिष्पर्धा छ । तर तिनीहरूको दायरा फराकिलो छ, हाम्रो संकुचित छ धेरै काम हामीले गर्न पाउँदैनौ उनीहरुले गर्न पाउँछन् । एउटै बजारमा एउटा चाहीँ सुविधाभोगी समूह देखिए तिनलाई चाहिँ बढी ‘फ्यासिटेसन’ गरेको देखियो विकास बैंकलाई थोरै गाह्रो अवश्य छ ।

बजारमा फेरि तरलता कमी भएकै हो त ?

यसमा दुई तीन वटा आधारहरु देखिए । एउटा सरकारी खर्च भएन, ढुकुटीमा पैसा अहिले थुप्रियो, निकै ठूलो रकम ढुकुटीमा थुप्रिएको छ । बाहिर निस्किएन । विकास निर्माणका काम भएन, राज्यको पैसा आएन भनेपछि त्यहाँबाट तलरता संकट हुन गएको हो । अर्को कारण भनेको रेमिट्यान्सको वृद्धिदरमा कमी आयो, त्यसले पनि असर पा¥यो । तेस्रो कारण भनेको अहिले वित्तीय प्रणालीमा कर्जाको माग बढ्यो, जुन गत वर्ष भूकम्पका कारण घटेको थियो । सबैको शेयर इस्यु हेर्ने हो भने दायित्व बढेको छ, ऋण दिन सक्ने स्थिति छैन, त्यसले गर्दा निक्षेप बढाउनु परयो । अहिले नेपाल राष्ट्र बैंकले नयाँ नीति ल्यायो – संस्थागत निक्षेप ५० प्रतिशत भन्दा गर्न पाउँदैन, पहिला त्यो सिलिङ ६० प्रतिशत थियो । नेपालका सबै वाणिज्य बैंकहरुको हेर्नु भयो भने ६० प्रतिशत संस्थागत निक्षेप हुन्थे, त्यसलाई ५० मा ल्याउनु परयो । अथवा के गर्नु परयो भने संस्थागत घटाउने हैन व्यक्तिगत निक्षेप बढाउनु परयो, अहिले जे जति ब्याजदर बढेका छन् एउटा प्रेसर त्यहाँ छ । व्यक्तिगत निक्षेप बढाउनै पहल भइरहेको छ । अब हाम्रो बैंक नेपालको समग्र बैंकिङ्ग क्षेत्रमै सबभन्दा बढी व्यक्तिगत निक्षेप भएको बैंक हो । सिद्धार्थ डेभपलमेन्ट बैंकको झण्डै ७८ प्रतिशत निक्षेप व्यक्तिगत निक्षेप हो । हाम्रो निक्षेप असाध्य राम्रो छ त्यति हँुदाहुँदै पनि अहिले कर्जाको माग आइरहेको छ, हामीले पनि वाध्य भएर अहिले निक्षेपको व्याजदर बढाएका छौं । अहिले हामीले नयाँ स्किम ल्याएका छौं १८० दिनको फिक्स डिपोजिटमा साढे आठ प्रतिशत व्याजदर दिएका छौं, तर त्यो एक वर्षको लागि राख्यो भने साढे छ प्रतिशत दिएका छौं । हामीले अहिले सायद सबै भन्दा बढीको रेट दिएका छौं ।

बैंकका भावी योजना के कस्ता छन् ?

सिद्धार्थ डेभलपमेन्ट बैंकको कुरा गर्ने हो भने बैंक असाध्यै बलियो भएको छ । यसपाली हामीले २४ प्रतिशत बोनस शेयर दिन सफल भएका छौं । संस्थागत सुशासनका कुनै पनि समस्या छैनन् । नेपालका डेभलपमेन्ट बैंकहरुमध्ये सिध्दार्थ डेभलपमेन्ट बैंक सबैभन्दा बढी टेक्नोलोजी ब्याकअप भएको डेभलपमेन्ट बैंक हो । हाम्रा आफ्नै २० वटा एटीएमहरु र करिब ३६ हजार एटीएमका ग्राहक छन् । हामीकहाँ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, लगायतका सुविधा हामीले दिइरहेको अवस्था छ । त्यसमा पनि हामी प्रविधिगत रूपमा धेरै अगाडि छौं । हाम्रा ३३ वटा शाखा छन् । यस पटक हामीले ८ वटा नयाँ शाखा खोल्दैछौं । त्यस मानेमा शाखा सञ्जाल र विस्तारमा अग्रणी बैंकको रुपमा हामी बजारमा रहन्छौँ । यो बैंकिङ क्षेत्र नै प्रतिस्पर्धी क्षेत्र हो । त्यसमा सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्नो पकड बढाउँदै जान्छ ।

प्रस्तोता– अरुणा सुबेदी, बैंकिङ प्रवर्द्धन

Leave a Reply

Your email address will not be published. Required fields are marked *