विद्युत्भारको चपेटामा उद्योग

Post Date : June 8, 2016 | 4:48 pm

लुम्बिनी (रुपन्देही), २६ जेठ । रूपन्देहीका उद्योग विद्युत्भारका कारण सङ्कटमा परेका छन् ।

विद्युत् प्राधिकरणले विद्युत् नियमित रुपमा वितरण गर्न नसक्दा यस क्षेत्रका उद्योग सङ्कटमा परेका हुन् । लामो समयसम्म कच्चा पदार्थ र इन्धनको अभावका कारण बन्द हुने अवस्थामा पुगेका उद्योग अहिले फेरि विद्युत्भारका कारण उत्पादन बन्द गर्न बाध्य भएका उद्योगीहरुले बताएका छन् ।

जिल्लामा सञ्चालित उद्योगहरूले नियमित रुपमा विद्युत् नपाउने, पाइहाले पनि कम भोल्टेजको विद्युत्का कारण दैनिक दर्जनौंँ पटकको ट्रिपिङको समस्या झेल्दै आएका छन् । जिल्लामा रहेका औद्योगिक करिडोर भैरहवा– लुम्बिनी, भैरहवा– बुटवल तथा भैरहवा– धकधइमा रहेका उद्योगले आवश्यकता अनुसारको विद्युत् पाउन नसक्दा उत्पादन क्षमता घटाउन बाध्य भएको उद्योगीहरुको भनाइ छ ।

दैनिक १० घन्टा विद्युत् वितरण गर्नुपर्ने भए पनि नियमित रूपमा विद्युत् वितरण हुन नसक्दा दैनिक छ/सात घन्टा मात्रै उद्योग चलाएर बस्नु परेको सुप्रिम सिमेन्ट उद्योगका महाप्रबन्धक सरोजकुमार पौडेलले बताउनुभयो । ट्रिपिङका कारण उद्योगका मोटर जल्दा लाखौँको नोक्सानी हुने गरेको छ । “उद्योगले पहिलेको तुलनामा ४० प्रतिशत उत्पादन घटाउनु परेको छ,” उहाँले भन्नुभयो ।

विद्युत् अनियमिताका कारण पूर्ण क्षमताअनुसार उत्पादन गर्नसक्ने उद्योगले २० देखि २५ प्रतिशतसम्म मात्र विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । रिलायन्स सिमेन्टका महाप्रबन्धक ऋषि पन्सारीले नियमित विद्युत् अभावका कारण उद्योग चलाउन गाह्रो भएको बताउनुभयो । “दिनमा सात÷आठ घन्टा मात्रै आउने विद्युत्ले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न कठिनाइ भएको छ,” उहाँले भन्नुभयो ।

पन्सारीका अनुसार एक पटक विद्युत् ट्रिपिङ हुँदा एकघन्टा जति उद्योगलाई नोक्सानी हुने गर्दछ । उहाँले उद्योग सञ्चालनका लागि आवश्यकपर्ने डिजल नेपाल आयाल निगमबाट नपाइएको बताउँदै डिजलबाट उद्योग चलाउँदा उद्योग सञ्चालनको लागत बढ्नुका साथै जेनेरेटर तात्ने समस्या देखिएको बताउनुभयो ।

भैरहवा– लुम्बिनी औद्योगिक करिडोरमा सिद्धार्थ, वृज, अर्घाखाँची, जगदम्बा, रिलायन्स, सुप्रिम, अग्नि, नेपाल अम्बुजा, गोयन्का, पाठक, विशाललगायत सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । त्यसैगरी पञ्चकन्या, गोयन्का स्टिल, अम्बे स्टिल, एभरेस्ट रोलिङ, एसआर स्टिल, एसआर फुड्सलगायतका ठूला उद्योग पनि सञ्चालनमा रहेका छन् । पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसकिँदा राज्यको दैनिक लाखौँ राजस्व गुमेको एसआर स्टिलका सञ्चालक सुरज उप्रतीले बताउनुभयो ।

पछिल्लो समय विद्युत् प्राधिकरणले लापरबाहीपूर्ण तरीकाले विद्युत् कटौती गर्दा आम नागरिक ठूलो समस्यामा परेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *