विपन्न कोषबाट २५२ विद्यार्थीलाई छात्रवृत्ति

Post Date : October 12, 2016 | 5:20 pm

रत्ननगर (चितवन), २६ असोज । पूर्वी चितवनको खैरहनीमा गरिब र जेहेन्दार विद्यार्थीका लागि स्थापित छात्रवृत्ति कोषमा रु ४२ लाख सङ्कलन भएको छ ।

एक व्यक्तिले सुरु गरेको उक्त अभियानमा यसरी रकम सङ्कलन भएको हो । चार वर्षको अन्तरालमा उक्त कोषबाट विपन्न २५२ जना विद्यार्थीलाई झन्डै रु ६ लाख छात्रवृत्ति वितरण भएको छ ।

उच्च माविमा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषमा रु ४२ लाख ५८ हजारभन्दा बढी रकम सङ्कलन भएको कोषका अध्यक्ष मुरलीप्रसाद गजुरेलले जानकारी दिनुभयो ।

कसैको स्मृति, जन्मदिन, या कुनै समारोहमा खर्च हुने पैसा यहाँ सङ्कलन गर्ने गरी गजुरेलले सैरहनी उमावि स्कुलसँगको सहकार्यमा कोष निर्माण गर्नुभएको हो ।

अक्षय कोषमा जम्मा भएको रकमबाट आएको ब्याजबाट आव २०६९/०७० मा ७२ जना लाई रु ९० हजार, २०७०/०७१ मा ५६ जनालाई रु एक लाख, २०७१/०७२ मा ५३ जनालाई रु एक लाख ४८ हजार छात्रवृत्ति दिइएको छ ।

यस्तै आव २०७२/०७३ मा ७१ जनालाई रु दुई लाख ४८ हजार बराबरको छात्रवृत्ति वितरण गरिसकेको अध्यक्ष गजुरेलले जानकारी दिनुभयो । सामाजिक अभियानका रुपमा अगाडि बढेको सो कोषमा २०७५ सालसम्म रु एक करोड बनाउने लक्ष्य लिइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *