‘विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा जोड्न आवश्यक’

Post Date : March 16, 2017 | 9:57 pm

काठमाडौँ, ३ चैत । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा जोड्न सकेमात्रै त्यसले देश विकासमा सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।

सेन्टर फर माइक्रोफाइनान्स(सिएमएफ)कोआयोजनामा राजधानीमा जारी राष्ट्रिय लघुवित्त सम्मेलनको ‘आप्रवास: उत्पादन र विप्रेषणको उपयोग’ विषयक छलफलमा कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताले विपे्रषणको सही ठाउँमा प्रयोगका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगारीबाट प्राप्त भएको विप्रेषणसँगै समाजमा भित्रिएका विकृतिको समेत ख्याल गर्नुपर्ने उनीहरुको भनाइ छ । विपे्रषणमा आधारित अर्थतन्त्र दिगो हुन नसक्ने भएकाले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा सहभागिले जोड दिए ।

नेपाल राष्ट्र बैंकका निर्देशक डा गुणाखर भट्टले ‘आप्रवास: उत्पादन र विप्रेषणको उपयोग’ विषयक कार्यपत्र प्रस्तुत गर्दै गत आवमा नेपालमा रु ६ खर्ब ६५ अर्ब बराबरको विपे्रषण भित्रिएको र सो मुलुकको कूल गार्हस्थ्य उत्पादनमा २९ दशमलव ६ प्रतिशत हुनआउने बताउनुभयो । विप्रेषणबाट आउने रकममध्ये ७० प्रतिशत रकम उपभोगमा खर्च हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति आवश्यक रहेको बताउनुभयो ।

मुलुकको अर्थतन्त्रको आधारमा नेपाल बढी विपे्रषण भित्रिने मुलकमा विश्वकै तेस्रो स्थानमा रहेको तथा रकमको आधारमा विश्वको २९औंँ नम्बरमा रहेको भट्टले बताउनुभयो ।

फिलिपिन्सका माइक्रोफाइनान्स परामर्शदाता कोन्नी जि हिनाले ‘सन्तुलित अर्थतन्त्र, सामाजिक, आर्थिक मूल्य र विप्रेषण’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालजस्ता मुलुकले विप्रषणको समुचित प्रयोगका लागि आर्थिक साक्षरता बढाउनुपर्ने सझुाव दिनुभयो ।

कार्यक्रममा वैदेशिक रोजगार विज्ञ डा गणेश गुरुङले नेपाल जस्तो गरिब मुलुकमा विप्रेषणबाट आउने रकम आधारभूत उपभोगमा खर्च हुनु स्वभाविक भएको बताउनुभयो । नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष विमला योगी, छिमेक लघुवित्त विकास बैंकका शोभा जोशी, महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष शान्ति गुरुङलगायतले सरकारले वैदेशिक रोजगारीको विकल्पमा स्वदशमै रोजगारीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *