विश्वका दश दश वटा सुखी तथा दुखी राष्ट्रहरुको एक झलक

Post Date : March 20, 2017 | 6:40 pm

वासिङ्गटन, ७ चैत । तपाईं आफूलाई सुख लाग्ने स्थानमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ र यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु चिजकै आवश्यकता पर्छ । जाडो यामका लागि जसरी एउटा भुवादार कोट भएपुग्छ । त्यसैगरी केवल सुखी समाजको परिकल्पनामा इमान्दारीपूर्वक रमेर (सेन्स अफ कम्युनिटि) आफनो जीवनलाई सुखमय तुल्याउन सकिन्छ ।

सुख कहाँ छ ? सुखको खोजी गर्ने ग्लोबल साइन्टिफिक स्टडिजलगायत विश्वका केही चर्चित स्वतन्त्र संस्थाले हालै एक अनुसन्धानात्मक प्रतिवेदनः “वल्र्ड ह्याप्पिनेस रिपोर्ट” प्रकाशन गरी विश्वका एकसय पचपन्न राष्ट्रलाई सामान्यतया दुई भागमा वर्गिकरण गरी सुखी तथा दुःखी राष्ट्रहरुको एक सूची नै निकालेका छन् ।

“सुखका लागि अनुसन्धान” नामक यस अनुसन्धान परियोजनामा औसत बैयक्तिक आय, स्वस्थ रही बाँचिने प्रतिब्यक्ति औसत आयु (लाइफ एक्सपेक्टेन्सि), एक आपसमा सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रताको उपभोग, देशमा व्याप्त आर्थिक वा अन्य प्रकृतिका भ्रष्टाचार, बैयक्तिक दया तथा क्षमाशीलता जस्ता मूल्य र मान्यतालाई निरुपण गरी यसैमा आधारित भई मापदण्ड निर्धारण गरिएको थियो ।

यी सबै मूलतत्वहरुलाई समग्रमा मूल्याङ्कन गर्न एक देखि दश अङ्कसम्म प्रदान गरी सुखी तथा दुखी राष्ट्रको पहिचान वा आंकलन गरिएको थियो ।

तीमध्ये दश/दशवटा प्रमुख सुखी तथा दुःखी देशको एउटा छोटो झलक यहाँ पनि दिइएको छ । प्रकाशित सूचीअनुसार यस धर्र्तीमा अत्यन्त सुखी मानिने राष्ट्रको बरियता क्रममा नर्वेले सात दश अङ्क प्राप्त गरी प्रथम स्थान ओगट्न सफल भएको छ । यस अघिसम्म नर्वे सो क्रमको चौथो स्थानमा रहेकोमा यसवर्ष छलाङ्ग मारी प्रथम स्थानमा पुगेको हो ।

विश्वकै सर्वाधिक शक्तिशाली मानिनुका साथै आर्थिक हिसाबमा पनि तुलनात्मक रुपले अन्य बहुसङ्ख्यक राष्ट्र भन्दा धनी कहलाइने अमेरिका भने बरियता क्रमको चौधौँ स्थानमा परेको छ । वितेको एक दशकमा प्रतिव्यक्ति आयमा मनग्गे वृद्धि गराउन सफल अमेरिकीहरु गतः वर्षसम्म यसै वरिष्ठता क्रमको तेह्रौं स्थानमा रहेकामा विस्तारै सुखप्राप्तिबाट विमुख भई यस वर्ष चौधौँ स्थानमा खस्किन पुगे ।

त्यस्तै, अत्यन्त दुखी मानिने राष्ट्रको बरियता क्रममा दुई दशमलब उनान्सत्तरी अङ्क प्राप्त गरी केन्द्रीय अफ्रिकी गणतन्त्र (सेन्ट्रल अफ्रिकन रिपब्लिक) प्रथम स्थान (सबभन्दा निम्नस्थान) मा परेको छ । सुखी मानिने राष्ट्रको बरियता क्रममा ७.५२ अङ्क प्राप्त गरी डेनमार्क दोस्रो स्थानमा रहेको छ । यस अघिसम्म डेनमार्क प्रथम स्थानमा रहेको थियो ।

“राम्रै भयो । सँधैभरी सुखी राष्ट्रको इज्जत कमाउने नाममा एकाधिकार त जमाउन पाइँदैन नि” डेनमार्कको राजधानी कोपेन्हेगनस्थित ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत मिएक वाइकिङ्गले टिप्पणी गरे ।

सुखी राष्ट्रहरुको वरिष्ठता क्रममा ७.५० अङ्क प्राप्त गरी आइस्ल्यान्ड तेस्रो स्थानमा प¥यो । यसै क्रमका अन्य राष्ट्रमाः स्विट्जरल्यान्ड – ७.४९ (चौथो), फिनल्यान्ड – ७.४७ (पाँचौँ), नेदरल्याण्ड्स – ७.३८ (छैठौँँ), क्यानाडा – ७.३२ (सातौँ), न्युजिल्यान्ड – ७.३१ (आठौँ), अस्ट्रिया – ७.२८ (नवौँ) र स्विडेन – ७.२७ (दशौँ) स्थानमा रहेका छन् ।

त्यस्तै, दुखी राष्ट्रहरुको वरिष्ठता क्रममा २.९१ अङ्क प्राप्त गरी बुरुन्डि दोेस्रो स्थानमा छ, भने ३.३५ अङ्क प्राप्त गरी तान्जानिया तेस्रो स्थानमा छ । यसै क्रमका अन्य राष्ट्रहरुमाः सिरिया – ३.४६ (चांैथो), रुवान्डा – ३.४९ (पाँचौँ), टोगो –३.५० (छैठौँँ), गिनी – ३.५१ (सातौँ), लाइबेरिया – ३.५३ (आठौँ), दक्षिणी सुडान – ३.५९ (नवौँ) र येमन – ३.६० (दशौँ) स्थानमा रहेका समेत जनाइएको छ । रासस /एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *