विश्वमा शरणार्थीको सङ्ख्या बढ्दै: सन् २०१६ को अन्त्यसम्म ६ करोड ५६ लाख आन्तरिक र बाह्य शरणार्थी

Post Date : June 19, 2017 | 4:54 pm

जेनेभा, ५ असार । विश्वमा आन्तरिक तथा बाह्य रुपमा विस्थापित हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ ।

सन् २०१६ को अन्त्यसम्मको तथ्याङ्क हेर्दा विश्वका विभिन्न देशबाट आन्तरिक तथा बाह्य रुपमा विस्थापित भएर शरणार्थी बन्नेको सङ्ख्या ६ करोड ५६ लाख पुगेको छ ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगले दिएको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको छ । सो निकायले विश्वमा पछिल्लो समयमा फेरि विस्थापित हुनेको सङ्ख्या बढ्दै जानुलाई खतराको सङ्केतका रुपमा लिएको छ ।

सोमबार संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ मा देखिएको यो उच्च सङ्ख्यालाई अहिलेसम्मकै सबैभन्दा धेरै भनिएको छ ।

उक्त निकायका प्रमुख फिलिप ग्रान्डीले भन्नुभयो– हामीले यस विषयमा तथ्याङ्क राख्न सुरु गरेदेखि नै सबैभन्दा धेरै विस्थापित भएको यो नै पहिलो पटक हो ।

विश्व शरणार्थी दिवसका अवसरमा सङ्कलन गरिएको यो पहिछल्लो तथ्याङ्क हो । यसरी हेर्दा पछिल्लो समयमा विश्वमा विस्थापितको सङ्ख्या विस्फोटक रुपमा बढ्दो रुपमा देखिएको छ ।

तथ्याङ्कअनुसार सन् २०१६ मा मात्र विश्वका एक करोड मानिसले विभिन्न कारणले आफ्नो घर छोड्न बाध्य भएका थिए । एकै बर्षमा यतिधेरै व्यक्तिले घर छोड्नुपरेको पनि यो पहिलो पटक हो ।

यी मध्ये गतवर्षमात्र विश्वका विभिन्न देशबाट गरी ३४ लाख मानिसले घर छोडेर बाहिरिएका अर्थात् अन्तर्राष्ट्रिय सीमाना काटेका थिए । शरणार्थीका रुपमा आफ्नो देशको सीमाना नै पार गरेर बाहिरिएको पनि यो अहिलेसम्मकै ठूलो सङ्ख्या हो ।

यसरी बाहिरिनेमा इराक, सिरिया, दक्षिण सुडान र अफगानिस्तानका नागरिक धेरै रहेका छन् । उनीहरुले देश नै छोडेर अन्तर्राष्ट्रिय सीमा कटेका छन् । उनीहरु विभिन्न देशमा शरणार्थीको रुपमा बसिरहेका छन् ।

उक्त संस्थाको तथ्याङ्कअनुसार गत वर्षमात्र करिब २२ करोड २५ लाख मानिस शरणार्थीका रुपमा दर्ता भएका थिए । उनीहरु अहिले पनि शरणार्थीको रुपमा जिवन व्यतित गरिरहेका छन् ।

यसरी विस्थापित हुनुमा विशेषगरी सिरिया र दक्षिण सुडानमा बढ्दो मात्रामा रहेको हिंसा र आतङ्कलाई प्रमुख कारणका रुपमा लिइएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *