विश्वसनीयता र आर्थिक सुदृढीकरण गर्दै निगम

Post Date : July 1, 2016 | 9:24 pm

काठमाडौँ, १७ असार । मुलुकको प्रतिष्ठाका रुपमा रहेको ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो समय आफ्नो विश्वसनीयता र आर्थिक अवस्थालाई सुदृढीकरण गर्दै लगेको छ ।

नियमित उडानको सुनिश्चितता नहुने, समयमा उडान नहुने, आर्थिक अवस्था कमजोर जस्ता आरोप खेप्दै आएको निगम आफ्नो सेवा र विश्वसनीयतालाई बढाउँदै लैजान सफल भएको छ । अन्तर्राष्ट्रियतर्फ गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय उडान ७५ प्रतिशतले वृद्धि भएको छ । निगमले आव २०७२/०७३ मा रु १० करोड नाफा कमाएको छ ।

निगमले आज मनाएको ५८औँ वार्षिकोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको प्रतिष्ठाका रुपमा रहेको ध्वजावाहक विमानको विश्वसनीयतालाई बढाउनुपर्ने बताउनुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “समयमा उडान भर्नुप¥यो, विश्वले विश्वसनीयता र प्रतिष्ठाले हेर्ने निगम बन्नुपर्ने जरुरी छ ।” यात्रा गर्ने यात्रुलाई टिकट छैन भन्ने र विमान खाली उडाउनेजस्ताकमजोरीको समेत सुधार्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीको सुटकेस हराउँछ, स्विट्जरल्यान्डबाट आउँदा मेरै सुटकेस चोरी भएको छ, यो तत्काल रोक्नुपर्छ ।” पाँच वर्षभित्र पाँच जहाज ल्याउने गरी योजना बनाएर काम अघि बढाउनुपर्ने भन्दै मन्त्री पोखरेलले तीन वटा न्यारोबडी र दुई वटा वाइड बढी पाँच वर्षभित्र ल्याइने बताउनुभयो ।

मन्त्रालयका सचिव प्रेमकुमार राईले निगमसँग भएको जहाज सही रुपमा कम्तीमा १२ घन्टा उडान नभर्ने बरु विमान खरिद गर्नुपर्नेमा मात्र जोड दिने गर्नु ठीक होइन भन्दै भएका तीन विमान पहिला तीव्र रुपमा सञ्चालन गरेपछि नयाँ विमान ल्याइने जानकारी दिनुभयो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले संस्था रु १० करोड नाफामा रहेको जानकारी दिनुभयो । निगम कर्मचारी युनियनका अध्यक्ष राजन उप्रेती, निगम कर्मचारी सङ्घका अध्यक्ष थानेश्वर शर्मा र निगम कर्मचारी सङ्गठनका अध्यक्ष मनोज शाहले जहाज खरिद प्रक्रिया अविलम्ब सुरु गर्नुपर्ने माग राख्नुभएको थियो ।

सो अवसरमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवापदक तथा कदरपत्र प्रदान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *