व्यापारमा एक खर्बभन्दा बढी घाटा

Post Date : December 16, 2016 | 2:02 pm

विराटनगर, १ पुस । नेपालको पूर्वी क्षेत्रबाट गत आवमा भारतलगायत तेस्रो मुलुकसँग रु एक खर्ब ७५ अर्ब ७९ करोड ४१ लाख ४३ हजारको व्यापार गर्दा रु एक खर्बभन्दा बढी व्यापार घाटा भएको छ ।

सो क्षेत्रबाट भारतलगायत तेस्रो मुलुकतर्फ रु २६ अर्ब ७६ करोड ५७ लाख ८६ हजार बराबरका विभिन्न प्रकारको वस्तु निर्यात गरिएको छ भने ती मुलुकबाट सोही अवधिमा रु एक खर्ब ४९ अर्ब दुई करोड ८३ लाख ५७ हजार बराबरको वस्तु निर्यात गरिएको थियो । आयातको तुलनामा निर्यात बढी भएकाले रु एक खर्ब २२ अर्ब २६ करोड २५ लाख ७० हजार घाटा भएको देखिन्छ ।

सो तथ्याङ्कअनुसार नेपालबाट १५ दशमलव २३ प्रतिशत निर्यात भएको छ भने भारतलगायत तेस्रो मुलुकबाट ८४ दशमलव ७७ प्रतिशत वस्तु आयात भएको व्यापार तथा निकासी केन्द्र क्षेत्रीय कार्यालय, विराटनगरका प्रमुख कृष्ण रेग्मीले जानकारी दिनुभयो ।

नेपालबाट सबैभन्दा बढी वस्तु भारततर्फ निर्यात गरिएको छ । सो अवधिमा निर्यात गरिएका रु २६ अर्ब ७६ करोड ५७ लाख ८६ हजार बराबरको वस्तु मध्ये भारततर्फ ८६ दशमलव ९८ प्रतिशत अर्थात् रु २३ अर्ब २७ करोड ९९ लाख १३ हजार तथा अन्य मुलुकतर्फ १३ दशमलव ०२ प्रतिशत अर्थात रु तीन अर्ब ४८ करोड ५८ लाख ७३ हजार बराबरको वस्तु निर्यात गरिएको छ ।

भारतबाहेक बङ्गलादेशतर्फ रु एक अर्ब २० करोड २८ लाख ५७ हजार, टर्कीतर्फ रु ८४ करोड २९ लाख ७८ हजार, अमेरिकातर्फ रु ४१ करोड १३ लाख ४२ हजार, इटलीतर्फ रु २० करोड १४ लाख ६९ हजार, चीनतर्फ रु १५ करोड ६२ लाख २१ हजार तथा भुटान, क्यानाडा, बेलायत, भियतनामलगायत मुलुकतर्फ निर्यात भएको रेगमीले बताउनुभयो ।

नेपालबाट निर्यात हुने वस्तुमा सबैभन्दा बढी रु चार अर्ब ५९ करोड ६३ लाख २२ हजारको ठूलो सुक्मेल, रु चार अर्ब ७९ लाख ९८ हजारको फलाम र जस्तापाता, रु दुई अर्ब रु २२ करोड आठ लाख चारको चिया, रु दुई अर्ब ८५ करोड ७८ लाख नौ हजारको कपडाको धागो, रु दुई अर्ब ८३ लाख ९१ हजारको कपडा, रु एक अर्ब ९४ करोड ९१ लाख ९२ हजारको जुटको धागो र रु एक अर्ब ९१ करोड ८६ लाख ४० हजार बराबरको जुटको झोलालगायत वस्तु निर्यात गरिएको थियो ।

यस्तै, नेपालबाट तयारी पोसाक, चोखर, चाउचाउ, प्लास्टिक तथा प्लास्टिक निर्मित वस्तु, अदुवा, अम्रिसो, गलैँचालगायत वस्तु निर्यात भएको थियो । सोही अवधिमा रु एक खर्ब ४९ अर्ब दुई करोड ८३ लाख ५७ हजार बरारबरको वस्तु भारतलगायत तेस्रो मुलुकबाट आयात गरिएको थियो ।

भारतबाट ६० दशमलव ८५ प्रतिशत अर्थात् रु ९० अर्ब ६८ करोड ६३ लाख ४८ हजारका वस्तु तथा समद्रपारि मुलुकबाट ३९ दशमलव १५ प्रतिशत अर्थात् रु ५८ अर्ब ३४ करोड २० लाख आठ हजारका वस्तु आयात गरिएको कार्यालयका प्रमुख रेग्मीले बताउनुभयो ।

यस्तै, चीनबाट रु २१ अर्ब ८२ करोड ३० लाख ५१ हजार, इन्डोनेसियाबाट रु चार अर्ब पाँच करोड ७९ लाख ८६ हजार, बङ्गलादेशबाट रु तीन अर्ब ६९ करोड २१ लाख ४३ हजार, अर्जेन्टिनाबाट रु तीन अर्ब ४२ करोड पाँच लाख ५० हजार र थाइल्यान्डबाट रु तीन अर्ब १८ करोड ३१ लाख ६२ हजार मूल्य बराबरका वस्तु तथा खाद्य पदार्थ आयात गरिएको थियो ।

त्यसैगरी, साउदी अरेबियाबाट रु दुई अर्ब ७८ करोड ८१ लाख ९३ हजार, मलेसियाबाट रु दुई अर्ब ४५ करोड ७८ लाख ४५ हजार, क्यानाडाबाट रु एक अर्ब ५१ करोड एक लाख ६२ हजार, पाराग्वेबाट रु एक अर्ब ५० करोड ४९ लाख एक हजार र अन्य मुलुकबाट रु १३ अर्ब ९० करोड ४० लाख १० हजार मूल्य बराबरको वस्तु आयात गरिएको कार्यालयले जनाएको छ ।

पूर्वाञ्चलका नाकाबाट आयात हुने वस्तुमा रु २१ अर्ब ४१ करोड छ लाख १४ हजार मूल्य बराबरको इन्धन, रु १६ अर्ब ३२ करोड ४८ लाख ४ हजारको फलाम तथा फलामबाट निर्मित वस्तु, रु १० अर्ब ३६ करोड पाँच लाख १३ हजारको प्लास्टिक तथा प्लास्टिकट निर्मित वस्तु रहेका छन् ।

त्यस्तै, रु नौ अर्ब ६२ करोड १२ लाख ६१ हजार मूल्य बराबरको अन्न, रु नौ अर्ब तीन करोड ८७ लाख २९ हजारको तेलजन्य पदार्थ, रु सात अर्ब १६ करोड ६१ लाख ६२ हजारको यान्त्रिक उपकरण, रु पाँच अर्ब ७६ करोड ९२ लाख सात हजारको खाद्यान्न र तरकारी, रु पाँच अर्ब ५६ करोड ४५ लाख ४६ हजारको विद्युतीय सामग्री तथा उपकरण, रु पाँच अर्ब १९ करोड ३७ लाख ३२ हजारको विभिन्न प्रकारका गाडी तथा गाडीका सामान आयात भएको कार्यालयले जनाएको छ । (प्रभाषचन्द्र झा) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *