व्यापार मेलाबाट रु १० लाख बचत

Post Date : July 25, 2016 | 12:25 pm

पोखरा, १० साउन । पोखरा उद्योग वाणिज्य सङ्घले पोखरामा गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म सञ्चालन गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ बाट रु १० लाख २८ हजार ८४१ बचत भएको जनाएको छ ।

सङ्घद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विन्दुकुमार थापाले गत वर्ष देशको भूकम्पजन्य प्राकृतिक प्रकोप जस्ता विभिन्न कारणबाट महोत्सव पनि उचित समयमा गर्न नसकिनुले अघिल्ला महोत्सवको तुलनामा उक्त महोत्सव अवलोकन गर्ने व्यक्तिको सङ्ख्या धेरै घटेको बताउनुभयो ।

मेलाको प्रायोजन, टिकट बिक्रीलगायतका शीर्षकबाट कुल रु ९१ लाख ३१ हजार ८०८ आम्दानी भएको जानकारी गराउँदै उहाँले विभिन्न शीर्षकमा रु ७८ लाख ९९ हजार ८७६ खर्च भएको बताउनुभयो ।

मेला पछि पूर्व घोषित कार्यक्रमअनुसार पोखरा प्रदर्शनी केन्द्रको भौतिक निर्माणमा रु दुई लाख तीन हजार ९१ खर्च भएको उहाँले जानकारी दिनुभयो ।

सङ्घले प्रति टिकट मध्येबाट रु एकको दरले रु ३० हजार ४३६ बालश्रम न्यूनीकरण कार्यक्रमका लागि प्रदान गरेको र प्रतिटिकट रु चारको दरले पोखराको समग्र विकासका लागि रु एक लाख २१ हजार ७४४ को कोष खडा गरेको छ ।

मेला र मौसम समेतलाई ध्यान दिँदै राष्ट्रिय औद्योगिक व्यापार मेला २०७३ आगामी मङ्सिर २३ गतेदेखि पुसको ४ गतेसम्म आयोजना गरिने निर्णय समेत सङ्घले गरेको अध्यक्ष थापाले जानकारी गराउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *