व्यावसायिक तरकारी खेतीतर्फ किसान

Post Date : November 22, 2016 | 4:19 pm

डडेल्धुरा, ७ मङ्सिर । गहँुबाली लगाउने समय भए पनि जिल्लाका किसान अन्नबाली लगाउन छोडेर तरकारी खेतीतर्फ उन्मुख भएका छन् ।

अन्नबाली लगाउँदा खान नपुग्ने जमिनमा तरकारी लगाउँदा वर्ष दिनलाई पुग्ने गरी अन्न भित्र्याएर रु ५० हजारदेखि रु ६० हजारसम्म बचत गर्न थालेका छन् । समैजी– ८ महरगाउँका करन पार्की चार रोपनी जमिनमा तरकारी लगाएर घरखर्च चलाएर वार्षिक रु एक लाखसम्म बचत गरिरहेको बताउनुहुन्छ ।

जिल्लाका विभिन्न गाउँका किसान गैरसरकारी सस्थाको आर्थिक र प्राविधिक सहयोगमा व्यावसायिक रुपमा तरकारीखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । थोरै जमिन आकासे पानीको भरमा खेती गर्दा उब्जनी खासै नहुने भएपछि यहाँका किसान तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

अनुकुलन परियोजनाले बहुउपयोगी पानी प्रणाली विधिबाट विभिन्न गाउँमा खानेपानी र सिँचाइ योजना लागू गरे पश्चात कृषक व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित भएका अनुकुलन परियोजनाका जिल्ला संयोजक पुरन ऐर बताउनुहुन्छ ।

परम्परागत खेती गर्दै आएका किसानलाई तरकारी खेतीका बारेमा समेत जानकारी र फाइदाको विषयमा अभिमुखिकरण गरे पश्चात जिल्लाका प्रायः लक्षित वर्ग र महिला तरकारी समूहमा आवद्ध भई व्यावसायिक रुपमा तरकारीखेतीतर्फ आकर्षित भएका परियोजनाका संयोजक ऐरको भनाइ छ । जिल्लाका गाङ्खेत, समैजी, आलिताल, बगरकोट, अजयमेरु, असिग्राम, कोटेली, परशुराम नगरपालिका, र अमरगढी नगरपालिकाको पोखरा, भत्काँडा, राईलगायत ठाउँमा किसानले समूह निर्माण गरी व्यावसायिक रुपमा तरकरीखेती गर्दैआएका छन् ।

प्लास्टिक घर निर्माण गरी आलु, काउली, बन्दागोभी, रायो, रामतोरियालगायत तरकारी उत्पादन गर्दैआएकी कैलपाल कृषक समूहका सदस्य वसन्ती पाल बताउनुहुन्छ । उहाँले अन्य खेती छोडेर सात रोपनी जमिनमा विभिन्न तरकारी उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । किसानले उत्पादन गरेको तरकारी सङ्कलन केन्द्रमार्फत बिक्री गरिँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *