शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको थप ४ शाखा कार्यालय

Post Date : February 26, 2018 | 11:17 am

रुपन्देही, १३ फागुन । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड यही फागुन ११ गते स्थापनाको नवौं बर्ष पूरा गरी दशौं बर्षमा प्रबेश गरेको अवसरमा बैंकले रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाको बनकट्टी, मणिग्राम र बुटवल उपमहानगरपालिकाको बेलवास तथा सैनामैना नगरपालिकाको मुर्गियामा थप चार शाखा कार्यालयवाट सेवा सञ्चालन गरेको छ ।

बनकट्टी र मणिग्राम शाखा कार्यालयको नेपाल राष्ट्र बैक, सिद्धार्थनगर कार्यालयका निर्देशक अशोक कुमार पौडेल, बेलवास शाखा कार्यालयको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदी र मुर्गिया शाखा कार्यालयको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले समुदघाटन गर्नु भएको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त समदघाटन कार्यक्रममा बैकले २१ जना जेष्ठ नागरिकहरुलाई नगद र अभिनन्दन पत्र सहित सम्मान गरेको थियो भने १६ वटा आमा समूहसँग सीपमूलक तथा व्यवसायिक तालिम प्रदान गरी उद्यमी बनाउने सम्बन्धी समझदारीपत्र आदान प्रदान गर्नुका साथै आमा समूहहरुले पिछडिएका महिलाहरुको हकहितमा कार्य गरी महिला सशक्तिकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेकोेमा अभिनन्दन गरी सम्मान गरेको थियो । उक्त अवसरमा स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नका लागि ५ विद्यालयहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरी २१ जना विद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको थियो भने ट्राफिक जनचेतना तथा दूर्घटना न्यूनीकरण र अनुगमनका लागि पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयलाई ४ थान साइकल, रोड डिभाइडर र ट्राफिक जनचेतनामूलक बोर्डहरु प्रदान गरेको थियो । बनकट्टी स्थित टिकुलीगढ स्वास्थ्य चौकीलाई बेड र विश्रामका लागि वेटिङ्ग चेयर प्रदान गरेको थियो ।

बनकट्टी र मणिग्राम शाखाको समुद्घाटन गर्दै नेपाल राष्ट्र बैकका निर्देशक अशोक कुमार पौडेलले बित्तीय अनुशासनमा रहेर यस बैकले हासिल गरेको उपलब्धि अनुकरणीय रहनुका साथै वित्तीय पहुँचमा यस बैंकले निर्वाह गरेको भूमिकाले आर्थिक समृद्धिको लक्ष्यलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बुटवल स्थानीय बैंकहरुसँग सहकार्य गरी एकीकृत आर्थिक विकासको अवधारणा अनुसार कार्य गरी बुटवल उपमहानगरपालिकाको समग्र आर्थिक विकास गरिने बताउनु भयो । सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्किले कृषि, पर्यटन उद्योग र व्यापारको विकासमा यस बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

सञ्चालन यशोधन पाण्डेले गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएका बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बैंकका भावि कार्यक्रमहरुका बारेमा प्रकाश पार्नुभएको थियो भने प्रमख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रदेश नंं. ५ का प्रत्येक जनताको घर घरमा सहज, विश्वसनीय र गुणस्तरिय बैकिंग सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

चुक्ता पूँजी १ अर्व ३७ करोड रहेको यस बैंकले १२ अर्व ३३ करोड निक्षेप परिचालन गरि १० अर्व ९३ करोड कर्जा लगानी गरेको छ । शाखा संख्या ३२ र २ वटा एक्सटेन्सन कार्यालय रहेको यस बैंकले आवश्यकता र सम्भाव्यताका आधारमा सेवा विस्तार गर्दे जाने प्र्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *