शिवपुरी र ककनीमा क्यानोनिङको प्रचुर सम्भावना

Post Date : June 13, 2017 | 4:21 pm

थानापति (नुवाकोट), ३० जेठ । स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रुपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ (छाँगावरोहण) का लागि नुवाकोटमा प्रचुर सम्भावना देखिएको छ ।

नेपाल क्यानोनिङ एसोेसिएसनले पछिल्लो समयमा काठमाडौँसँग जोडिएको यस जिल्लामा क्यानोनिङको पहिचान, प्रशिक्षण र स्थानीय समुदायलाई सक्रिय गराउन थालेपछि यसको सम्भावना बढेको हो । मनोरञ्जनका साथै पर्यटन प्रवद्र्धन र व्यावसायिक आयआर्जन तथा समुदाय परिचालनमा यसलाई जोड्न राजनीतिक दल, स्थानीय तह र सामाजिक कार्यकर्तामा जागरण समेत देखिएको छ ।

शिवपुरी गाउँपालिका– ८, थानापतिस्थित सानो छहरे झरनामा एसोसिएसनको सदस्य फ्रेन्स्स एडभेन्चरले गत वर्ष दिइएको दस दिने क्यानोनिङ प्रशिक्षणपछि यस वर्षबाट स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढेको छ । तर मोटरबाटोबाट झरनासम्म पुग्ने सहज बाटो निर्माण र व्यावसायिक मान्यता प्राप्ति हुन बाँकी छ ।

स्थानीय क्यानोनिङ व्यवस्थापन समितिले आयोजना गरेको छाँगावरोहणमा स्थानीय दस युवाले सो खेल गर्नाका साथै यसको निरन्तरता र व्यावसायिकतामा जोड दिन थालिएको छ । नेपाली काँग्रेसका सांसद् एवम् जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले सोमबार सो झरना र छाँगावरोहण अवलोकन गर्दै यसलाई व्यावसायिक रुप दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र हो । यसको विकास र प्रवद्र्धनमा हामी सबै लाग्नु आवश्यकछ, स्थानीय युवाको प्रयासको म प्रशंसा गर्दछु ।”

केसीसँगै स्थानीय राजनीतिक कार्यकर्ता केशव रिजाल, राजु उप्रेतीलगायतले सो क्यानोनिङ अवलोकन गरी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । यहाँ पुग्न काठमाडौँको टोखा, गुर्जेभञ्जयाङ हुँदै थानापतिको ढोडिनीसम्म करिब २७ किलोमिटरको मोटरबाटो र करिब आधा घन्टा पैदल हिँड्नुपर्छ ।

नेपालमा हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने भएकाले यसको प्रवद्र्धधनमा व्यवसायी पनि सक्रिय छन् । हाल क्यानोनिङ एसोसिएसनमा करिब ८० सदस्य पुगिसकेका छन् ।

एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाका अनुसार लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ हुँदै आएको छ । नुवाकोटको ककनी गाउँपालिकाको पौवाथोक र बुलबुले झरनामा पनि क्यानोनिङ सुरु भएको छ । उहाँले बाटो निर्माण गरी विदेशीका लागि डिजिटल सामग्री प्रचार गर्न सकिए व्यवसाय फस्टाउने बताउनुभयो ।

शिवपुरी गाउँपालिका– ८ का वडाध्यक्ष पदबहादुर थपलियाले गाउँमा हुने विकास र पर्यटन प्रवद्र्धनका लागि आफूहरु सबैसँग मिलेर जान तयार रहेको बताउँदै सानो छहरेको झरनामा क्यानोनिङबारे हालसम्म स्थानीय तहमा व्यावसायिक आवेदन भने आइनसकेको बताउनुभयो ।

स्थानीय क्यानोनिङ व्यवस्थापन समितिका अध्यक्ष हरि सिलवालले त्यसलाई व्यवसायिकता दिन पहल भइरहेको बताउनुभयो । ढोडिनीका स्थानीयवासी जीतबहादुर लामाले सो स्थान झरनाका साथै वनभोजस्थल र दृष्यावलोकनका लागि उपर्युक्त भएकाले सरकारले त्यसरुपमा विकास गर्न ध्यान दिनुपर्ने बताउनुभयो । (प्रकाश सिलवाल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *