शेयर किन्न र बेच्न अब दलालकामा धाउन नपर्ने

Post Date : April 15, 2018 | 6:11 pm

काठमाडौँ, २ वैशाख । नेपालमा पनि इन्टरनेटमार्फत शेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास शुरु भएको छ ।

क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिमा आज आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले उक्त प्रणाली शुभारम्भ गर्नुभएको हो । यो प्रणाली प्रारम्भसँगै शेयर लगानीकर्ताले शेयर खरिद बिक्रीका लागि ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ ।

छिट्टै पूर्ण स्वचालित शेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणाली नेपालको पुँजीबजारमा भित्रने प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ । सो अवसरमा नेप्सका महाप्रबन्धक चन्द्रसिंह साउदले नेपाली पुँजीबजारको अपार सम्भावना रहेको बताउनुभयो ।

इन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतले प्राथमिक बजारको विकासमा हालसम्म उल्लेख्य काम भए पनि दोस्रो बजारको विकासमा आवश्यक ध्यान पुग्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

आयोजक संस्था क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिका प्रबन्ध निर्देशक प्रियराज रेग्मी र सञ्चालक शीतल कोइरालाले पुँजी बजारको विकासका लागि धितोपत्र दलाल व्यवसायीले नियमन निकाय र सरोकारवालासँग आवश्यक छलफल गरेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

धितोपत्र बोर्डमा दर्तामा रहेका ब्रोकरको संख्या ५० रहेको छ । देशका विभिन्न शहरमा शाखा खोलेर उनीले सेवा प्रवाह गरिरहेका छन् । नेपालमा करिब रु १५ खर्बको बजार पुँजीकरण छ । मुलुकको जनसंख्याको पाँच प्रतिशतभन्दा थोरै व्यक्ति पुँजी बजारमा समाहित रहेको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *