शेयर बजारमा थापिने धूर्त फन्दा

Post Date : January 11, 2017 | 4:44 pm

 

शेयर बजारमा अस्थायी परिवर्तन देखाएर धूर्त फन्दाले साना लगानीकर्तालाई फसाउन सक्छ ।

नेप्से अहिले लगातार घट्ने क्रम जारी छ। १८८१ उच्च बिन्दु पुगेको नेप्सेले त्यो सूचकांक पार गर्न सकेन र बजार ओरालो लाग्न सुरु भएर अहिले १४०० हाराहारीको ‘साइडलाइन’ मा हिँडिरहेको छ । बजार के कति कारणले घट्यो वा त्यस पछाडिका कारक तत्वहरू के के हुन् भन्ने कुरा अहिले लगभग प्रस्ट भएको छ। जसले जे भने पनि नेप्से अहिले ‘बियरिस ट्रेन्ड’मा हिँडिरहेको छ, बजार कति अंकको बियरिस पुगेपछि फर्किन्छ भन्न सक्ने अवस्था भने छैन। सँधै बियरिस पनि रहँदैन तर फेरि उकालो चढ्नका लागि बजारले केही सुधार वा नयाँ कार्यक्रम खोजेको छ र बुलिस प्रवृत्तिमा फर्किन हामीले विशेष संकेतहरू चिन्नुपर्ने हुन्छ।

बियरिस हुँदा बजार सिधा रेखा बनाएर तल झर्दैन बीचमा २-४ वटा कारोबार बुलिस हुन्छ अनि फेरि तल झर्न सुरु गर्छ। जसलाई हामी ‘लो-हाइ’ भन्ने गर्दछौँ। यो ‘लो-हाइ’ कति पटक बन्छ कहिले बन्छ कसरी बन्छ भनेर हामीले यकिन गर्न भने सकिन्न। अझ नेप्से काठमाडौँ केन्द्रीत बजार भएको हुँदा, सानो ठूलो जस्तो पनि घटनाले सजिलैसँग प्रभावित पार्ने गर्दछ। यस्तोमा हामी लगानीकर्ता धेरै सतर्क हुनु पर्दछ। यही बियरिस ट्रेन्ड चल्दै गर्दा बिचमा आउने बुललाई “बुलिस ट्रयाप” भन्दछौँ। यस्ता बुल क्षणिक हुन्छन्, २-४ दिन देखिन्छन् अनि फेरि हराउँछन्। यही बुललाई लगानीकर्ताले बजार अब फर्कियो कि भनेर अनुमान लगाएर सेयर खरिद गर्दा फस्ने हुनाले फन्दामा परेको मानिन्छ।

बियरिस बजारको स्वरूप

बियरिस ट्रेन्डमा बजार पूरै भिरबाट लडेको भकुन्डो जस्तो अवस्थामा तल झर्दैन, बीच–बीचमा २-४ दिन बजार बढ्छ, तर त्यसैलाई बजार पुनः बुलिसतिर फर्किन लागेको भनेर भन्ने अवस्था रहँदैन। तर केही लगानीकर्ताले त्यही २-४ दिन बजार बढेको बेला सेयर खरिद गर्छन् र बजार फेरि बियरिस लयतिर जान्छ र त्यसैलाई हामी बुल ट्रयाप भन्छौँ। बुल वा बियर ट्रयाप पहिल्याउन धेरैलाई गाह्रो पनि पर्ने गर्छ, चाहे त्यो बजारका पुराना लागनीकर्ता हुन वा नयाँ किनकी बजार तल–माथि पार्ने तत्व धेरै हुन्छन् । तर हामीले यसो भन्दैमा बुल ट्रयापमा नपर्न सावधानी अपनाउन भने सक्छौँ। बुल ट्रयापमा प्राविधिक विश्लेषण गरेर बजारमा छोटो समयमा कमाउने चतुर सट्टेबाजहरू अर्थात बजारका भाषामा ‘स्पेकुलेटर’हरूले मात्र ठूलो जोखिम मोलेर खेल्न सक्छन्। हामी सट्टेबाज नभएर लगानीकर्ता भएका कारण यो जालोबाट बच्ने तरिका जान्नु पर्ने हुन्छ। सेयर बिक्रीकर्ताले भन्दा पनि खरिदकर्ताले धेरै ध्यान दिनुपर्ने हुन्छ, किनकी बेच्नेले बढेको मूल्यमा बेच्न पाउँछ तर खरिदकर्ताले पनि बजार फर्किने होला भनेर किन्ने हो, त्यसो नभएर बजार फेरि बियरिस गतितिर जाँदा यो जालोमा फसिन्छ। नेप्सेमा पनि हामीले बियरिस ट्रेन्ड चल्दै गर्दा बजार २-४ दिन बढेको देखेकै छौँ, जसलाई बोलीचालीको भाषामा बजार हरियो र रातो भएको भन्ने गरिन्छ । नेपालमा लगानी गर्ने लगानीकर्ताले यही धूर्त रूपमा देखापर्ने हरियोबाट जोगिनु आवश्यक छ।

बियरिस बजारमा देखिने बुल ट्रयाप

चित्र नं १ मा हामीले बियरिस बजारको स्वरूप देख्न सक्छौँ। बजार नियमित झरिरहेको छ र बीच–बीचमा बजार बढेको पनि देखिन्छ। चित्रमा २ वटा ट्रयाप संकेत गरिएको छ। यो चित्र नेप्सेको वास्तविक कारोबारको नभएर नमूना मात्र हो।

नेप्से १८१९ को सूचकांकदेखि तल झर्न सुरु गरेको हो, त्यसपछि बजारमा उतार–चढाव कायम छ। तल चित्र नं २ मा नेप्से कारोबारमा देखापरेका २ वटा बुल ट्रयाप स्पष्ट छन् ।

नेप्सेको बियरिस ट्रेन्ड र बुल ट्रयाप (चित्र साभार: www.sharesansar.com)

चित्रमा हामीले २ वटा बुल ट्रयापका स्पष्ट खाका छन्, यी दुई मेजर ट्रयाप हुन् भने बीचमा स-साना जालो निर्माण पनि भएका छन्। ग्राफमा मसिना उतारचढाव हेर्नका लागि हामीले नेप्सेको बजार सूचकांकका आँकडालाई बार चार्ट वा मैनबत्ती चार्टमा उतारेर अझ प्रस्ट देख्न सक्छौ।

बुल ट्रयापबाट कसरी बच्ने

जोखिम कम गर्ने रणनीति

बियरिस ट्रेन्डमा कुनै बिन्दुमा तपाईंले बजार फर्किने वा छोटो समयमा कमाउने आशमा सेयर खरिद गर्नु भएको हुन सक्छ। तपाईंले खरिद गरेपछि बजार बढ्नुको सट्टा फेरि बियरिस गतितिर गयो भने तपाईं धुर्त बुलको फन्दामा पर्नु भयो। ट्रयापमा पारियो भनेर पिर मान्नु भन्दा जोखिम कम गर्नेतिर ध्यान दिनुपर्ने हुन्छ। तपाईंले त्यस्तो बेला ‘स्टप लस’ रणनीति प्रयोग गर्दा कम घाटा मात्र बेहोर्नुपर्ने हुन्छ। बुल ट्रयापमा परेपछि तपाईंले किनेको सेयरको मूल्यमा २-५% कम भयो भने ब्रोकरलाई बेच्न लगाउनुस् न कि बजार फेरि फर्केला र घाटा पूर्ति गरौँला भन्ने आश गरेर बस्ने। कम घाटालाई पछि तपाईंले फेरि पूर्ति गर्न सक्नु हुन्छ।

बजारको गति अनुशरण

हरेक दिन बजारको गति (ट्रेन्ड) नियाल्नुस्, तपाईंले अरु कसैले बजारको अवस्था ज्ञात गराएको भन्दा पनि आफैले बजारको ट्रेन्ड कता जाँदैछ भनेर बुझ्ने कोशिस गर्नुस् । बजारका गतिभन्दा ठ्याकै उल्टो लगानी गर्नु भनेको घाटाको व्यापार गर्नु हो। ट्रेन्ड अनुसारको लगानीले तपाईंलाई छोटो समयका लागि सेयर खरिद–बिक्री गर्न सजिलो हुन्छ। लामो समयका लागि सेयर खरिद गर्ने लगानीकर्ताले ट्रेन्डको वास्ता नगर्नुस्। यदि तपाईंमा प्राविधिक विश्लेषण गर्ने ज्ञान छैन भने ट्रेन्डको मेसो पाउनु हुन्न। त्यसैले लगानी गर्नु छ भने बजारका गति कता गइरहेको छ पत्ता लगाउनुस् र जोखिम लिएर लगानी गर्नुस् हैन भने लगानी नगर्दा उत्तम हुनेछ।

प्रायोजित समाचार

प्रायोजित समाचारहरू कुनै निश्चित कम्पनीका सेयरको भाउ घटाउन वा बढाउन पत्रपत्रिका, अनलाइन समाचार पोर्टल वा सामाजिक सञ्जालमा आउने गर्दछ। बियरिस ट्रेन्डमा भाउ बढाउन समाचारमार्फत चलखेल गरिन्छ। कम्पनीको अाधिकारिक सूचनाबाहेक अन्य समाचार वा सूचनालाई अाधिकारिक मान्नु हुँदैन। प्रायोजित समाचारप्रति विश्वास गरेर सेयर खरिद गर्दा बुल ट्रयापको सिकार हुने सम्भावना उच्च हुन्छ।

अनुभव नै तपाईंको असल साथी हो

तपाईंले बजारमा लिएका हरेक गलत निर्णय अनुभवको रुपमा ग्रहण गरेरे फेरि त्यही गल्ती नदोहर्याउने प्रतिबद्धता गर्नुस् तपाईं बजारको धूर्त जालमा पर्ने सम्भावना कम हुनेछ। लामो समयका लागि लगानी गर्नेहरू नै बुल ट्रयापबाट बच्ने गर्छन्। सेयरमा भन्दा पनि कम्पनीमा लगानी गर्दा बुल ट्रयापको वास्ता गर्नु पर्दैन। सकेसम्म छोटो समयमा बजारमा चलखेल वा लगानी प्रवाह गर्ने भन्दा पनि जोखिम मूल्यांकन गरेर लामो समयका लागि लागानी गर्नुस्। बुद्धिमान र अनुभवी लगानीकर्ताले प्रायः छोटो समय भन्दा पनि सुरक्षित लगानी गरेका हुन्छन्।

बियरिस ट्रेन्ड राम्रा–नराम्रा सबै कम्पनीका लागि सुनामी जस्तै हो, यही मौकामा राम्रो कम्पनीको सेयर हामीले सस्तो मूल्यमा खरिद गर्ने अवसर पनि पाएका हुन्छौँ। बियरिसमा बजार जितिहाल्ने कोसिस हामीले नगरौँ, त्यसो गर्दा बुल ट्रयापमा फसिन्छ। बियरिस ट्रेन्डलाई अवसरको रुपमा सदुपयोग गरी राम्रो कम्पनीको सेयर खरिद गर्न आफ्नो लगानी प्रवाह गर्न सक्छौँ। राम्रो कम्पनीमा लगानी गर्दा लगानी सुरक्षित हुनुको साथै भविष्यमा सोचेअनुरुप नाफा पनि आर्जन गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *