शेयर बजारमा लगानीकर्ताले गर्ने ५ सामान्य गल्ती

Post Date : September 4, 2016 | 3:30 pm

एउटा भनाइ छ “एक पटक गरिएको गल्तीलाई गल्ती भन्न सकिन्छ, फेरि पनि त्यही गल्ती गर्नु लापरवाही हुन्छ ।” शेयर बजार आफैमा बिना प्रतिस्पर्धा कमाउने थालो भए पनि यहाँ धेरै लगानीकर्ताले आफ्नो पूँजी गुमाउन पुग्छन्, कोही बजारमा बसी राख्छन्, कोही कहिले नफर्किने गरी सँधैका लागि बाहिर निस्किन्छन् । बजारमा नवप्रवेसी र छोडेर जाने कुरा सामान्य भए पनि के कस्ता गल्ती लगानीकर्ताले गर्दा उनी घाटामा जान बिवश हुन्छन् वा बजार नै छोडेर जाने अवस्था सिर्जना हुन्छ त ?

१) बढ्दा किन्ने र घट्दा बेच्ने

शेयरमा लगानी गर्ने सबैलाई थाहा भएको सामान्य नियम ‘घट्दा किन्ने र बढ्दा बेच्ने’ तर यो नियम सबैले पालना गर्दैनन् । कुनै कारणवस कुनै कम्पनीको सेयर १०५ ले अचानक बढेर ‘टप गेनर’ मा देखियो भने किन्नेको ओइरो लाग्छ । बायर प्रेसर बढ्दै जान्छ, लगानी गर्नेले किन बढ्यो भाउ भनेर बुझ्नुको सट्टा बढेको मूल्यमा किन्न सुरु गर्छन् । यहाँ धेरैले सामान्य नियम बिर्सिने र भावनामा बग्ने गर्छन् । १–२ दिनमा फेरि बजार घट्न सुरु गर्छ, पहिले सस्तोमा किनेकाले भाउ बढेपछि बेच्न थाल्छन्, अनि बढेको बेला किनेकाले भाउ घट्यो भनेर बेच्न सुरु गर्छन् । यो गल्ती बजारमा धेरैले गरेको देखिन्छ, ट्रेडिङ फ्लोरमा यसरी घटा खाने लगानीकर्ता भेट्न सकिन्छ । यस्ता निर्णय गर्नुको कारण डर र लोभ दुवैले काम गरेको हुन्छ ।

२) वित्तीय समाचारप्रति धेरै भर पर्नु

आर्थिक पत्रपत्रिकामा शेयरमा लगानी गर्ने र कमाउनेबारे समाचार आउने गर्छन्, झन् आजकाल अनलाइन पोर्टलहरु धेरै देख्न सकिन्छ । कुनै कम्पनीको बारे विश्लेषण प्रकाशित भएको भरमा धेरै जसो लगानीकर्ताले राम्रो समाचार आयो भनेर लगानी गर्ने गर्छन् । नेपाल मात्र हैन, प्रायः संसारमा कुनै कम्पनीको बारेमा छापिएको समाचार, विश्लेषण आदि पढेको भरमा लगानी गर्ने गर्दछन् । धेरैजसो अवस्थामा त्यस्ता समाचार बजार भाउ बढाउन वा घटाउन अस्त्रका रुपमा प्रयोग गरेको पाइएको छ । समाचारको मात्र भर पर्दा भारी नोक्सान बेहोर्न पनि तयार हुनुपर्ने हुन्छ ।

३) भीडको पछि नलाग्नुस्

यो भेडाको जस्तो प्रवृत्ति भएका लगानीकर्ता धेरै छन् बजारमा । कुनै शेयरको भाउ बढ्यो वा घट्यो र अन्य लगानीकर्ताको भीड त्यही कम्पनीमा देखियो भने पूरै भीड त्यतैतिर लाग्छन् । सबैले किनेका छन् वा बेचेका छन्, घाटा खाने म मात्र हैन सबैले घाटा खान्छन् भन्ने सोच हावी भएको हुन्छ । भीडको पछि नलाग्दा अरुले मुनाफा कमाउने र आफू पछि परिने भन्ने डर धेरै हुन्छ र जे पर्ला–पर्ला लगानी गरी हालौँ भन्ने खालको निर्णय लगानीकर्ताले गर्ने गर्छन् । मानवीय स्वभाव नै भनौं, लगानीकर्तालाई भीडभन्दा अलग बस्ने निर्णय कठिन हुने गर्छ । तर भीड भन्दा बाहिर बसेर लगानी गर्ने लगानीकर्ता प्रायः सुरक्षित हुने, घाटा खाए पनि काम मात्रामा मात्र खाने गर्छन् । उदाहरणको रुपमा गत हप्ता हिमालयन जनरल इन्स्योरेन्सले २२०५ हकप्रद सेयर जारी गर्ने बोर्डको निर्णय भनेर बाहिर समाचार आयो, बजारमा हिमालयनसहित अरु इन्स्योरेन्सको १०५ ले भाउ बढ्यो, मार्केट डेफ्थ हेर्दा किन्नेको पूरै भीड थियो । साधारण सभाबाट निर्णय पास गरेर, बिमा समितिबाट पास गराएर, अन्तिममा सेबोनबाट स्वीकृति पाएपछि मात्र हकप्रद सेयर जारी गर्न पाउँछ । यो प्रक्रिया लामो छ, आत्तिएर १९०० भन्दा माथिसम्ममा लगानी गरे, अहिले त्यसको भाउ घट्दै छ ।

४) ब्रोकर र विज्ञको राय बुझेर किनबेच गर्नोस्

ट्रेडिङ्ग फ्लोरमा आफू यति बर्ष पुरानो लगानीकर्ता भएको आजसम्म भनेका कुरा गलत नभएका जस्ता कुरा गर्ने धेरै भेटिन्छन् । हामीले टिभी र पत्रपत्रिकामा विज्ञको राय भनेर हेर्ने गर्छौँ । धेरैजसो अवस्थामा लगानीकर्ताले विज्ञ भनाउदासँग सल्लाह गरेर किनबेच गर्ने गर्छन् । यो पनि सामान्य गल्ती हो जसले गर्दा लगानीकर्ताले घाटा व्यहोर्न परेको उदाहरण धेरै छन् । यदि यी विज्ञलाई बजारको मुख कता डोरिँदै छ भन्ने थाहा हुन्थ्यो भने २०६८ सालमा बजार २९२ पुग्दा उनीहरु के हेरेर बसेका थिए ? यदि कसैलाई बजारमा कमाउने गोप्य सूत्र (सेक्रेट) थाहा छ वा बजार जानेको बुझेको छ भने अरुलाई सिकाउन पनि परेन, सबै पैसा ल्याएर चुपचाप एक्लै कमाउँदा हुन्छ । यो कुरा लगानीकर्ताले बुझेर पनि वास्ता गर्दैनन् । ब्रोकर भनेका तेस्रो पक्षका लागि शेयर खरिद बिक्री गर्न बीचमा बसेका एजेन्ट हुन्, तिनले कुन शेयर किन्ने वा कुन बेच्ने भनेर कसैलाई सल्लाह सुझाव दिन नैतिकताले दिँदैन । ब्रोकरलाई लगानीकर्ताले घाटा होस् कि नाफा कुनै सरोकार हुँदैन, किनौं भनेर सोधे किन भन्दिन्छ, बेचम भनेर सोधे बेच भन्दिन्छ, जति किनबेच हुन्छ उसलाई कमिसन बुक भइहाल्छ । यदि ब्रोकरलाई नाफा भए मात्र कमिसन दिन्छु भन्ने हो भने ९०५ ब्रोकरले सल्लाह दिन छोड्छन् । हामी त्यही गल्ती दोह¥याउँछौँ ।

५) बजार सूचकांक अनुमान लगाउने

बजार बुलिस भए कति सूचकांकसम्म पुग्छ, बियरिस भए कति भनेर अनुमान लगाउनु पनि सामान्य गल्तीका रुपमा लिन सकिन्छ । हामीले कमाउने भनेको हामीले लगानी गरेको कम्पनीको शेयर मूल्य बढेको छ कि छैन भनेर त्यही अनुसार रणनीति तय गर्नुपर्ने हुन्छ, नेप्से इन्डेक्स बुलिस वा बियरिस हुँदैमा घाटा–नाफा हुन्छ भन्न सकिन्न । बियरिस हुँदा पनि कमाइ रहेका हुन्छन् । हल्लावाज (स्पेकुलेटर) ले मात्र बजार सूचकांक हेरेर छोटो समयका लागि लगानी गर्ने नाफा बुक गर्ने गर्छन्, तर खुद्रा लगानीकर्ता पनि सूचकांक हेरेर बजारमा सट्टेबाजी गर्ने गरेका हुन्छन् । बजार सूचाकांक आफ्नो नियम अनुसार बुलिस र बियरिस हुने गर्छ । लगानी गर्ने अवसर करेक्सन हुँदा आउँछ तर यती बेला करेक्सन हुन्छ र यति बेला बजार इन्डेक्स बढ्छ जस्ता अनुमान लगाउने गल्ती लगानीकर्ताले गर्दा बजारबाट सदाका लागि पलायन हुने अवस्था निम्तिन सक्छ ।

Comments on “शेयर बजारमा लगानीकर्ताले गर्ने ५ सामान्य गल्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *