श्रम व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड

Post Date : November 11, 2016 | 11:10 am

बुटवल, २६ कात्तिक । यस क्षेत्रमा बढ्दो औद्योगिकीकरणमा कमी आउन नदिन श्रम व्यवस्थापनलाई विशेष ख्याल राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

रुपन्देही र आसपासमा बढ्दो औद्योगिकीकरणमा कमी आउन नदिन श्रमिकलाई दक्ष बनाउनेदेखि सरकारले निर्धारण गरेको सेवासुविधा पनि दिनुपर्ने उनीहरुले बताएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घमा रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनसम्बन्धी परियोजनाको आयोजनामा बिहीबार सङ्घ सचिवालयमा भएको अन्तरक्रियाका सहभागीले उद्योगको उत्पादन बढाउन र नाफा आर्जन गर्नमा श्रमिकको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरुको सुरक्षामा विशेष ख्याल गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष महेशमान सिंहले उद्योगी र श्रमिक बीचको राम्रो सम्बन्ध र यस क्षेत्रमा उद्योगप्रति आम नागरिकको सकारात्मक सोच भएकाले लगानीकर्ताको आकर्षण बढेको उल्लेख गर्दै त्यसमा कमी आउन नदिने बताउनुभयो ।

श्रम कार्यालय बुटवलका प्रमुख हरिशङ्कर चौलागाईंले बजारमा भएका श्रमिक र उद्योगलाई आवश्यक श्रमिकबीच तालमेल नमिलिरहेकाले अदक्ष श्रमिकलाई दक्ष बनाउन विशेष खालका सीपमूलक तालिम आवश्यक रहेको बताउनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष कुलप्रसाद न्यौपानेले नेपालका उद्योगमा भारतीय श्रमिक आउने र नेपालका श्रमिक विभिन्न खाडी देश जानुपर्ने विडम्बनाको अन्त्यका लागि उद्योगलाई आवश्यक जनशक्तिका लागि सरकार र सम्बन्धित क्षेत्रले पहल गर्नुपर्ने बताउनुभयो ।

महासङ्घका निर्देशक हंसराज पाण्डेले उद्योगको आवश्यकता र हरेक दिन बजारमा आउने युवा बीचको सन्तुलन मिलाउन परियोजनाले काम गर्ने बताउनुभयो । रासस (Photo: http://www.butwalbazar.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *