संरक्षित ६० हजार वन क्षेत्रमा आगलागी

Post Date : May 16, 2016 | 4:30 pm

काठमाडौँ, ३ जेठ । देशको विभिन्न भागमा फैलिएको डढेलोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रभित्रका ६० हजारभन्दा बढी हेक्टर वन क्षेत्र नष्ट भएको छ ।

यसअघि वन विभागले तीन लाख ५० हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा आगलागी भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । यस मध्ये राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रभित्र मात्रै ६० हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा आगो फैलिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्ज र सबैभन्दा कम कोसी टप्पु वन्यजन्तु आरक्षणभित्रको वन क्षेत्रमा आगो फैलिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा १९ हजार ३००, बाँके राष्ट्रिय निकुञ्जमा १६ हजार ५००, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज दुई हजार ६०५, शुक्लाफाँट वन्यजन्तु आरक्षण ६ हजार ८५४, चितवन राष्ट्रिय निकुञ्ज १८ हजार ६४०, कोसी टप्पु वन्यजन्तु आरक्षण एक हेक्टर र खप्तड राष्ट्रिय निकुञ्जमा ६ हेक्टर वन आगालागी भएको विभागका उपसचिव गोपालप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

उहाँले आगलागी कम गर्न सम्बन्धित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षलाई निर्देशन दिइसकिएको बताउनुभयो । केही दिनयता देशका विभिन्न भागमा पानी परेका कारण वनमा फैलिएको आगलागीमा केही कमी आएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *