संविधान दिवस विशेष कार्यक्रम

Post Date : September 19, 2016 | 1:31 pm

काठमाडौँ, ३ असोज । नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ विशेष समारोह आयोजना गरिएको छ ।

संविधानसभामार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको थियो । संविधान दिवस मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित समरोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, सांसदहरु, तीनवटै सुरक्षा निकायका प्रमुख समारोहमा उपस्थिति थियो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत विभिन्न राजनीतिक दलका नेताको पनि सो समारोहमा उपस्थिति थियो ।

राष्ट्रपति भण्डारी समारोहस्थल उपस्थित हुँदा उहाँको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रम दाहाल र गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

समारोहमा राष्ट्रपति भण्डारी, समारोह समिति अध्यक्ष एवम् प्रम दाहाल प्रधानन्यायाधीश कार्कीले शान्तिको प्रतिक सेतो परेवा उडाउनुभएको थियो ।

नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि तथा संविधान दिवस–२०७३ लेखिएको ब्यानर समारोहमा प्रदर्शन गरेको थियो ।

सोही समारोहमा ज्ञात अज्ञात सहिदप्रति कार्यक्रममा एक मिनेट मौनधारण गरिएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका तीनवटै जिल्लाका जिविस तथा नगरपालिकाले सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का खेलाडीले देखाएको कला कौशल समारोहस्थल आकर्षण बनेको थियो । करिब दुई घन्टा अवधिको सो कार्यक्रममा तीनवटै सुरक्षा निकायले राष्ट्रिय भावनाले ओतप्रोत भएका सङ्गीत तथा नृत्यसमेत प्रदर्शन भएको थियो ।

संविधान दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ । आज विदेशमा रहेका नेपालीले पनि संविधान दिवस विविध कार्यक्रम आयोजना गर्दै मनाउँदै छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *