संसद् समितिबाट ‘सेज’ विधेयक पारित

Post Date : July 6, 2016 | 8:39 am

काठमाडौँ, २१ असार । व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले विशेष आर्थिक क्षेत्र (सेज) को स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको छ ।

समितिले विधेयकको दफा ९, १९ र ४३ मा केही संशोधनसहित पारित गरेको समितिका सभापति भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयो । उक्त विधेयकको दफा ९, १९ र ४३ मा संशोधन परेको थियो ।

विधेयकको दफा ९ मा अनुमतिपत्रको अवधि र नवीकरण, दफा १९ मा सञ्चालक समितिको गठनसम्बन्धी व्यवस्था र दफा ४३ मा उद्योगलाई हानी नोक्सानी हुने काम गर्न नपाइनेसम्बन्धी व्यवस्था रहेको छ ।

समिति बैठकले सरकारलाई सेजमा स्थापना हुने उद्योगको सूची र प्राथमिकता निर्धारण गर्दा वा अनुमति दिँदा औद्योगिक ऐन, कानुनले नकारात्मक सूचीमा राखेको सुर्तीजन्य एवम् मदिराजन्य उद्योग स्थापना गर्न अनुमति नदिने व्यवस्था हुनुपर्ने सुझाव दिएको छ ।

त्यस्तै सेजभित्र स्थापना भएको उद्योगमा काम गर्ने कामदार वा कर्मचारीको पारिश्रमिक निर्धारण गर्दा कामदार वा कर्मचारीको कल्याणकारी कार्यलाई ध्यानमा राखी अन्य औद्योगिक प्रतिष्ठानको भन्दा बढी सुविधा हुने गरी तोकिनुपर्ने पनि सुझाव दिएको छ ।

बैठकमा सांसदहरुले निर्यात प्रवद्र्धनको माध्यमबाट मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाई सेज तत्काल सञ्चालन गर्न सुझाव दिनुभएको थियो ।

सरकारले भैरहवामा सेज स्थापनाका लागि पूर्वाधार निर्माण सम्पन्न गरे पनि आवश्यक कानुनको अभावमा सञ्चालनमा आउन सकेको छैन । यसबाहेक विराटनगर, जुम्ला र पाँचखालमा समेत सेज स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाएको उद्योग मन्त्रालयले जनाएको छ ।

सरकारले सेजमा स्थापित उद्योगलाई अन्य उद्योगको तुलनामा विशेष सुविधा दिने र त्यस्ता उद्योगले कम्तीमा ७५ प्रतिशत उत्पादन निर्यात गर्ने गरी विधेयक तयार पारेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *