सडक निर्माण कार्य सुस्तगतिमा

Post Date : March 30, 2017 | 6:01 pm

धनुषा, १७ चैत । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा सञ्चालित जनकपुरको एकीकृत सहरी विकास आयोजनाअन्तर्गत निर्माण गरिन लागिएको सडकमा ठेकेदारले नाला निर्माणका लागि बाटो खनेर जथाभावी छाडिदिएका कारण स्थानीयवासी समस्यामा परेका छन् ।

पेटी कन्ट्रैक्टर रमण कन्स्ट्रक्सनले उचित समयमा तोडिएका सडकहरु, जथाभावी रुपमा यत्रतत्र खाल्डो खनेर बेवास्ता गरेपछि ठेकेदार बलराम महतोको लापर्बाहीले सर्वसाधारण समस्यामा परेका आरोप लाग्ने गरेको छ ।

ठेकेदारले बाटोमा तीन फिटसम्म गहिरो खनिदिएको र सोको व्यवस्थापनमा कुनै चासो नदेखाएका कारण हिँडडुल गर्न निकै समस्या भोग्नु परिरहेको जनकपुर रेल्वे स्टेसन नजिक व्यापार व्यवसाय गर्दै आएका श्याम गुप्ताले बताउनुभयो । गुप्ताका अनुुसार निर्माण कम्पनीका कर्मचारीलाई १५ दिनदेखि पटक–पटक समस्याका बारेमा जानकारी गराए पनि अहिलेसम्म कुनै सुनुवाइ नगरेको उहाँको गुनासो छ ।

रेल्बे स्टेसनदेखि भानुु चोक, मालपोत कार्यालयदेखि राराबहुमुखी क्याम्पस, बिसहरा चोकदेखि क्याम्पस चोकलगायतका स्थानमा नाला बिछ्याउने क्रममा बाटो खनेर जथाभावी छाडिदिएका कारण सामान किनमेलदेखि लिएर बालबालिकालाई विद्यालय जानसमेत निकै समस्या भोग्नु परिरहेको छ ।

भmन्डै एक अर्बको लगानीमा थालिएको सडक र नाला निर्माणको कार्य पनि सुस्त गतिमा भइरहेको छ । निर्माण कार्य सुरु भएको एक वर्षभन्दा बढी समय बितिसके पनि ठेकेदारले ३२ किलोमिटर नाला निर्माण गर्नुपर्नेमध्ये अहिलेसम्म १४ किलोमिटरमात्र निर्माण भएको एकीकृत सहरी विकास आयोजनाले जनाएको छ । विभिन्न कारणवस काम ढिलो हुन गएको एकीकृत सहरी विकास आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले स्वीकार गर्नुभयो ।

अधिकांश ठाउँमा काम गर्नमा गम्भीर नदेखिएका कारण भ्रमरपुरा चोकदेखि विश्वकर्मा चोक, मुरली चोक, बिसहरा चोक, कदम चोक, भानु चोक, मिल्स एरियालगायत परिक्रमा सडक सामान्य पानी परेको अवस्था पनि हिलाम्य हुने गरेको छ ।

सन् २०१८ फरबरी महिनाभित्र ३२ किमी नाला र ९.२६ किमी कालोपत्रे सडक निर्माणका लागि राजधानीको शर्मा जेभी निर्माण कम्पनीले ठेक्का कबुल गरेको हो । बाटो खनेर जथाभावी छाडिदिएपछि सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिनाइ भइरहेको छ ।

एकीकृत सहरी विकास आयोजना र निर्माण कम्पनी आफ्नो जिम्मेवारीप्रति गम्भीर नभए वर्षात्को समयमा जनकपुरवासीको दैनिक जीवन कष्टकर हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *