सनराइज बैंकको एकीकृत कारोवार आजबाट शुरु

Post Date : February 10, 2017 | 5:33 pm

काठमाडौँ, २८ माघ । सनराइज बैंक लिमिटेडले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्त (एक्विजिसन) गरी मिति २०७३/१०/२८ गते देखि एकीकृत वित्तीय कारोवार प्रारम्भ गरेको छ । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले होटल याक एण्ड यति, दरबार मार्गमा आयोजना गरिएको एक भव्य समारोहका बीच गर्नुभयो ।

उक्त अवसरमा गभर्नर डा. नेपालले सनराइज बैंकले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्त गरी एकीकृत कारोवार शुरु गरेकोमा शुभकामना दिँदै यस एकीकरणबाट सनराइज बैंक थप सशक्त हुनुका साथै मर्चेण्ट बैंकिङ्ग सम्बन्धी कार्य आफैले गर्न सक्षम भई आफ्ना ग्राहक तथा शेयरधनीहरुलाई अझ बढी सेवा सुविधा प्रदान गर्दै एक सबल वित्तीय संस्थाको रुपमा अगाडि आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

उक्त समुद्घाटन समारोहका सभापति सनराइज बैंक का अध्यक्ष मोतीलाल दुगडले नेपाल सरकारको लगानी रहेको कर्मचारी संचयकोष, बिमा संस्थान जस्ता ५ वटा सरकारी निकाय संस्थापक रहेको कम्पनीलाई एकीकरण गर्न पाउँदा हर्ष प्रकट गर्दै यस पछि बैंकले ६८ वटा शाखाहरुबाट ग्राहकवर्गले सेवा प्राप्त गर्न पाउने जानकारी दिनुभयो । साथै उहाँले सनराइज बैंकको चुक्ता पूँजी करिब रु. ५ अर्ब ४५ करोड पुगेको र जसमा ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब रु. ७ अर्व ९ करोड पुग्ने र आ.व. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको रु. ८ अर्बको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने प्रतिवद्धता गर्नु हुँदै नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन तथा परिपत्रहरुको परिपालना गर्दै बैंक संस्थागत सुशासनलाई जोड दिँदै अगाडि बढेको र राष्ट्र बैंकले तोकेको उत्पादनशील कर्जा र विपन्न वर्ग कर्जाको सिमा बैंकले पूरा गरिसकेको जानकारी दिनु भयो ।

सो अवसरमा एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडका अध्यक्ष सुरेन्द्र थापाले सो संस्था दर्ताको प्रमाणपत्र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई हस्तान्तरण गर्नु भयो । एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडका शाखा कार्यालय, कमलपोखरीमा समेत छुट्टै कार्यक्रमको आयोजना गरी सो स्थानमा बैंकको ६८ औँ शाखा कार्यालय स्थापना गरेको छ । त्यसै गरी एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडका अध्यक्ष सुरेन्द्र थापाले फाइनान्स कम्पनीलाई सानो दायरामा बस्नु भन्दा सनराइज बैंक जस्तो सबल ‘क’ वर्गको संस्थासँग समाहित हुन पाएकोमा आफ्ना सम्पूर्ण कर्मचारी, ग्राहकवर्ग तथा शेयरधनीहरु खुशी रहेको जानकारी दिँदै आगामी दिनमा सनराइज बैंकले उत्तरोत्तर प्रगति गर्न सकोस् भनी शुभकामना दिनुभयो । सनराइज बैंकलाई आगामी पाँच वर्षभित्र ठूला दश बैंकभित्र पार्ने गरी YOU & US – Together We Can Build भन्ने दूरदृष्टि तथा ‘हामी सँग सँगै’ भन्ने हातेमालोको सिद्धान्त अंगिकार गरी अघि बढिरहेको अवस्थामा एकीकरणको सिनर्जी प्रभावले होस्टेमा हैँसेको काम गर्ने विश्वास व्यक्त गर्नु भयो । उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स तथा बैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *