सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्ती गरी एकीकृत वित्तीय कारोवार सुरु गर्यो

Post Date : July 14, 2016 | 4:34 pm

काठमाडौं, ३० असार । सनराइज बैंक लि. ले नारायणी नेशनल फाइनान्स लि. लाई प्राप्त (एक्विजिसन) गरि अाजदेखि एकीकृत वित्तीय कारोवार प्रारम्भ गरेको छ । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले होटल अन्नपूर्ण, दरबार मार्गमा आयोजना गरिएको एक भव्य समारोहका बीच गर्नुभयो । सो अवसरमा नारायणी नेशनल फाइनान्स का अध्यक्ष श्री लक्ष्मीदास मानन्धरले सो संस्था दर्ताको प्रमाणपत्र सनराइज बैंकका अध्यक्ष श्री मोतीलाल दुगड लाई हस्तान्तरण गर्नु भयो । नारायणी नेशनल फाइनान्स का १४ वटा शाखा कार्यालयहरुमा समेत छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि एकीकृत कारोबारको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

उक्त अवसरमा गभर्नर डा. नेपालले सनराइज बैंकले नारायणी नेशनल फाइनान्स लाइ प्राप्त गरि एकीकृत कारोवार शुरु गरेकोमा शुभकामना दिदै यस एकीकरण बाट सन्राइज बैंक थप सशक्त भई आफ्ना ग्राहक तथा शेयरधनीहरु लाई अझ बढी सेवा सुविधा प्रदान गर्दै एक सबल वित्तीय संस्थाको रुपमा अगाडि आउनेमा विश्वास व्यक्त गर्नुभयो । साथै डा. नेपालले यो एकीकरण बाट संस्थाहरु केवल पूँजीको लागि मात्र नभएर संस्था सबल बनाउनका लागि पनि हुँदो रहेछ भन्ने प्रमाणित भएको बताउनु भयो ।

उक्त समुद्घाटन समारोहका सभापति सनराइज बैंक का अध्यक्ष श्री मोतीलाल दुगडले नारायणी नेशनल जस्तो उत्कृष्ट फाइनान्स कम्पनीलाई एकीकरण गर्न पाउँदा हर्ष प्रकट गर्दै मेची देखि महाकाली सम्म विस्तारित ६७ वटा शाखाहरु बाट ग्राहकवर्गले सेवा प्राप्त गर्न पाउने जानकारी दिनुभयो । साथै उहाँले सन्राइज बैंकको चुक्ता पूँजी करिब रु. ४ अर्व पुगेको तथा नेपाल राष्ट्र बैंकले तोकेको रु. ८ अर्वको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने जानकारी दिदै नेपाल राष्ट्र बैंकले एक्विजिसनमा पनि मर्जर बराबरकै सुविधा प्रदान गर्नु पर्नेमा जोड दिनु भयो ।

त्यसै गरि नारायणी नेशनल फाइनान्स का अध्यक्ष श्री लक्ष्मीदास मानन्धरले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी अहिल्यै पुगि सकेको भएता पनि फाइनान्सको सानो दायरामा बस्नु भन्दा सन्राइज बैंक जस्तो सबल “क” वर्गको संस्था संग समाहित भइ ठूलाठूला परियोजनामा लगानि विस्तार गर्न सक्ने बैंकको रुपमा स्थापित हुन पाएकोमा आफ्ना सम्पूर्ण कर्मचारी, ग्राहकवर्ग तथा शेयरधनीहरु खुशी रहेको जानकारी दिदै आगामि दिनमा सन्राइज बैंकले उत्तरोत्तर प्रगति गर्न सकोस भनी शुभकामना दिनुभयो ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यले नारायणी नेशनलका सम्पूर्ण कर्मचारी, ग्राहकवर्ग तथा शेयरधर्नीहरुलाइ “क” वर्गको बैंक सन्राइज बैंकमा स्वागत गर्दै सन्राइज बैंकलाइ आगामि पाँच वर्ष भित्र ठूला दश बैंकभित्र पार्ने गरि YOU & US – Together We Can Build भन्ने दूरदृष्टि तथा “हामी संग संगै” भन्ने हातेमालोको सिद्धान्त अंगिकार गरि अघि बढिरहेको अवस्थामा एकीकरणको सिनर्जी प्रभावले होस्टेमा हैसेको काम गर्ने विश्वास व्यक्त गर्नु भयो । एकीकरण पश्चात् बैंकको चुक्ता पूँजी रु. करिव ४ अर्व, ६७ शाखा, ६९ एटिएम, सहित निक्षेप रु. ५० अर्व, तथा कूल कर्जा रु. ४३ अर्व पुगेको बैंकले जनाएको छ ।

उक्त समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्वर अफ कमर्स तथा वैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *