सरकारका आर्थिक कारोबार विद्युतीय प्रणालीबाट

Post Date : April 25, 2018 | 5:56 pm

काठमाडौँ, १२ वैशाख । सरकारका आर्थिक कारोबार आजदेखि विद्युतीय प्रणालीबाट प्रारम्भ भएको छ ।

सूचना प्रविधिको अत्यधिक प्रयोग गर्दै सबै सरकारी कार्यालयका कामकारबाही बिना कागजात सम्पादन गर्ने नीतिअनुरुप सो प्रणालीबाट आर्थिक कारोबार प्रारम्भ भएको हो ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सो प्रणालीको शुभारम्भ गर्दै सरकारका आर्थिक कारोबारलाई पारदर्शी र सहज बनाउन विद्युतीय प्रणाली प्रारम्भ गरिएको बताउनुभयो ।

निकट भविष्यमा नै राजश्व संकलनसम्बन्धी सबै काम विद्युतीय प्रणालीबाट गरिने छ उहाँले भन्नुभयो ।

अर्थमन्त्री खतिवडाले अर्थमन्त्रालय अन्तर्गतका सबै निकाय र विभागलाई विद्युतीय कारोबार प्रणालीलाई सुव्यवस्थित तुल्याउन निर्देशन दिँदै आर्थिक कारोबारसम्बन्धी कानून, कार्यविधि र निर्देशिका निर्माणलाई पनि द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले प्रविधिको वर्तमान युगमा प्रविधिमैत्री प्रणाली विकास गर्दै सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै आर्थिक वर्ष २०७५/७६ सम्ममा देशभरका सरकारी कार्यालयका आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने योजना रहेको जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *