सलकपुरको सुन्तलाको कोलकातामा स्टल

Post Date : December 1, 2016 | 12:19 pm

इलाम, १६ मङ्सिर । यसबर्ष डिसेम्बरको १ देखि ३ तारिखसम्म भारतको कोलकातामा हिमालयन ओरेन्ज टुरिजम काउन्सिलले आयोजना गरेको ‘तेस्रो हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल’ मा इलामको सलकपुरको सुन्तला स्टल राखिएको छ ।

सुन्तलाको स्टल राख्न सलकपुरबाट आठजनाको सांस्कृतिक टोलीसहित १५ जना किसानको टोली सुन्तला बोकेर कोलकाता पुगेका छन् । भारतको पश्चिम बङ्गालको सिलिगुडीमा रहेको इको टुरिजमको व्यवस्थापन र प्रकृति संरक्षण समाज बाहुनडाँगी, झापाको समन्वयमा सलकपुरमा उत्पादन भएको सुन्तला बिक्री र प्रदर्शन तथा स्वयम् सुन्तला उत्पादक किसानले नै बिक्री गर्न पुगेका हुन् ।

सलकपुरबाट सातजना किसानको टोलीले ‘नेपाल सलकपुर’ लेखिएको स्टिकरसहितको सुन्तला, एभोकाडो, माहुरीको मह, कुच्चोको मुट्ठा र हस्तकलाको सामग्रीसहित कोलकाताको स्टलमा नेपाली झन्डासहित राखेको किसान याम अधिकारीले जानकारी दिनुभयो ।

सिलिगुडीमा रहेको इको टुरिजमले पश्चिम बङ्गाल, सिक्किम, भुटान, दार्जिलिङ, डुवर्स र नेपालको कृषि पर्यटन प्रवद्र्धनको काम गर्दै आएको छ । विगत वर्षमा पनि सहभागी भएका सलकपुरका किसान भारतमा नेपाली कृषिको प्रचारले कृषि पर्यटन प्रवद्र्धनमा सहयोग मिलेको सलकपुरका अगुवा कृषक कुमार मोक्तानले बताउनुभयो ।

स्टलमा आवतजावत र व्यवस्थापन खर्चसमेत आयोजकले नै व्यहोर्ने मोक्तानले बताउनुभयो । टोलीमा जिर्मलेका किसान याम अधिकारी, कुमार मोक्तान, वेदबहादुर राई, देवराज खनाललगायत १५ जनाको टोली रहेको छ ।

पछिल्लो समय नेपाली कृषि उपज भारतीय व्यापारी र बिचौलियाको नियन्त्रणमा रहेको गुनासो बढिरहेको बेला स्वयम् किसानले नै आफ्नो उत्पादन उपभोक्तासम्म पुरयाउन पाउँदा नेपाली उत्पादनको बजार प्रवद्र्धन हुनेमा महोत्सव विश्वस्त रहेको किसानको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *