सहकारीका क्षेत्रबाट मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड

Post Date : May 5, 2016 | 8:01 am

काठमाडौँ, २२ वैशाख । सरकारले नीति तथा कार्यक्रममा सहकारी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी सङ्घको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘सहकारी सङ्घसंस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी’मा सहभागी वक्ताले सहकारीका क्षेत्रबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको हो ।

बिहीबारसम्म चल्ने गोष्ठीमा देशभरका विभिन्न सहकारीका करिब ४०० जनाको सहभागिता छ ।

उपप्रधान एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सहकारी अभियान र सरकारको विवादका कारण नयाँ सहकारी ऐन पारित हुन नसकेको बताउनुभयो । उहाँले विवादकै कारण प्रस्तावित सहकारी ऐन चार महिनादेखि मन्त्रिपरिषद्मा अड्किएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रका जनताको जीवनस्तर माथि उठाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्री तथा एमाले सांसद भरतमोहन अधिकारीले सहकारीका माध्यमबाट मुलुकलाई आत्मनिर्भरताको दिशामा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले केही सहकारीमा देखिएको विकृतिलाई समग्र सहकारीमा जोड्न नहुने बताउँदै सहकारी सिद्धान्त, मूल्य र मान्यताअनुसार सञ्चालन गर्नसके यस क्षेत्रमा कुनै समस्या नआउने विचार व्यक्त गर्नुभयो ।

सांसद तथा एमालेका सहकारी विभाग प्रमुख पशुपति चौलागार्इंले ऐननियम संशोधन गरी सहकारी क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने बताउनुभयो । सांसद तथा नेपाली काँग्रेसका सहकारी विभाग प्रमुख बालकृष्ण खाँडले सहकारी क्षेत्रमा बनेका नीतिनियम राम्रो रहेकाले अब त्यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *