सहकारीद्वारा रु दुई अर्ब तीस करोड लगानी

Post Date : September 8, 2016 | 1:55 pm

बाबियाचौर (म्याग्दी), २३ भदौ । जिल्लाका २१३ वटा सहकारी संस्थाले आव २०७२/७३ मा रु दुई अर्ब ३० करोड १४ लाख लगानी गरेका छन् ।

सहकारीले व्यापार, कृषि, पशुपालन, जग्गा, साना उद्योगलगायतका क्षेत्रमा लगानी गरेको जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष जमुना आचार्यले बताउनुभयो । लगानीको ठूलो हिस्सा व्यापार, व्यवसायले ओगटेको छ । अधिकतम १८ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने सहकारीले १४ प्रतिशतसम्म ब्याजमा बचत लिने गरेका छन् ।

सहज पहँुच, सजिलो, छिटो र कम झन्झटिलो प्रक्रियाबाट कर्जा र बढी ब्याज पाइने भएकाले सहकारीप्रति समुदायको आकर्षण बढेको बेनीको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक वसन्त श्रेष्ठले बताउनुभयो ।

जिल्लाका केही सहकारी संस्थाले वाणिज्य र विकास बैंकका शाखाले भन्दा बढी कारोबार गरेका छन् । गत आवमा रु २८ करोड ३२ लाख निक्षेप सङ्कलन गरेको न्यू धौलागिरिले रु २८ करोड लगानी गरेको जनाएको छ ।

यसैगरी जिल्लाका सहकारीमा रु दुई अर्ब ११ करोड २६ लाख ४४ हजार बचत रहेको सहकारी डिभिजन कार्यालयका सहकारी निरीक्षक दिलबहादुर केसीले जानकारी दिनुभयो । बढी ब्याज पाइने हुँदा सहकारीमा बचतकर्ताको आकर्षण बढेको छ । ग्रामीण क्षेत्र र टोल टोलमा सहकारी संस्था खुल्ने क्रमसँगै समुदायमा बचत गर्ने बानीको विकास गराएको छ ।

डिभिजन सहकारी कार्यालयका अनुसार गत वर्ष रु पाँच अर्ब चार करोड ८५ लाख बचत सङ्कलन गरेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा रहेका एक हजार ४३ वटा सहकारी सहकारी संस्थाले करिब रु सात अर्ब लगानी गरेका छन् । सहकारी संस्थाले विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्यलगायत सामाजिक गतिविधिमा पनि सहयोग गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *