सहकारीबाट आत्मनिर्भर बन्दै महिला

Post Date : July 2, 2016 | 2:54 pm

फलेवास (पर्वत), १८ असार । कुश्मा नगरपालिका–२ पाङकीदेवी सुवेदीलाई केही वर्ष पहिलेसम्म चुरापोते र शिृङ्गारपटारका सामान किन्नका लागि पनि श्रीमान्सँग हात थाप्नुपर्ने अवस्था थियो । श्रीमान्ले पैसा नदिए वा ऋण काढेर नल्याएसम्म घर व्यवाहार चलाउन मुस्किल हुने अवस्था थियो ।

सानोतिनो काम आँटेपनि ऋणनै काढ्नुपर्ने अवस्थाबाट अहिले उनी मुक्तभएकी छिन् । उनी मात्र होइन सोही ठाउँकी दुर्गा सुवेदीको पनि व्यथा उस्तै छ । सिटामोल किनेर खानका लागि पनि अरुकै हात थाप्नुपर्ने । सिटामोटल खाने पैसा हुँदैनथ्यो, टाउको दुख्ने वित्तिकै कसले पैसा देला र औषधि खाउला भनेर गाउँभरी चाहार्नुपर्ने अवस्था थियो । उनीहरु मात्र होइन उक्त गाउँका झन्डै १०० जना महिलाको जीवनस्तर अहिले परिवर्तन भएको छ ।

अहिले दुई चार हजार आवश्यक परयो भने पनि कसैको भरपर्नु पर्दैन तुरुन्तै घरमै वा बैंकमा गएर निकाल्नसक्ने भएका छन् । गाउँका कुश्मानगरपालिका– २ र ३ पाङका महिला सहकारीमार्फत एकजुट भएपछि अहिले उनीहरुको जीवनस्तरमा परिवर्तन आएको छ । गाउँमा महिलाको मात्रै सहभागितामा सञ्चालित पार्वती महिला सहकारी संस्था लिमिटेड खोलेर सोही सहकारीमा ज्याला मजदुरी गरेको रकम जम्मा गर्ने र त्यहीबाट ऋण लिएर व्यवसाय गर्न थालेपछि अहिले आत्मनिर्भर बन्न थालेका हुन् ।

महिला तथा बालबालिका कार्यालय पर्वतको पहलमा झन्डै एकदशक पहिले स्थापना भएको उक्त सहकारीमा गाउँमा १०० जना महिला आवद्ध रहेका छन् । उनीहरुले नियमित रुपमा उक्त सहकारीमा रकम जम्मा गर्ने र आवश्यक परेमा सस्तो र सुलभ दरमा ऋण लिने गरेका छन् ।

सोही सहकारीबाट ऋण लिएर उनीहरुले व्यक्तिगत वा सामूहिक व्यवसाय समेत सञ्चालन गरेका छन् । उनीहरुले व्यावसायिक रुपमा गाईभैँसीपालन, तरकारीखेती, बाख्रापालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । अहिले प्रत्येक सदस्यले वार्षिक न्युनतम रु ५० हजारदेखि रु तीन लाखसम्म मुनाफा आर्जन गर्दैआएको बताउछन् ।

पहिलेको जस्तो समस्या अहिले छैन, दुई चार पैसा चाहिएमा पनि कसैको भरपर्नु पर्दैन सहकारीकी अध्यक्ष सावित्रादेवी पौडेलले भन्नु भयो ‘महिला अहिले आत्मनिर्भर बनेका छन् । उनीहरुले आफ्नो व्यक्तिगत आम्दानीलाई मात्र हेरेका छैनन् । समाजमा केही योगदान पु¥याउनुपर्छ भनेर सामुदायिक भवन समेत निर्माण गरेका छन् ।

पार्वती महिला विकास बहुउद्देयीय सहकारी संस्थाका महिलाले रु पाँच लाख १५ हजार ७६० खर्चिएर सहकारी भवन बनाएका हुन् । विसं २०६२ मा स्थापना भएको महिला सहकारीको आफ्नो स्वामित्वको कार्यालय नहुँदा समस्या भएपछि विभिन्न निकायको सहयोग जुटाएर भवन निर्माण गरिएको हो ।

यसैबीच महिला तथा बालबालिका कार्यालयले गरेको अनुगमनका क्रममा सहकारीमा आवद्ध महिलाले सहकारी सञ्चालन गरेर प्राप्त गरेका उपलब्धिको बारेमा जानकारी दिए । अधिकांश महिलाले सहकारीबाट ऋण लिएर तरकारीखेती गरेको, पशुपालन गरेको तथा अन्य व्यावसायिक कार्यमा संलग्न भएको बारेमा जानकारी गराए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *