सहकारीमा पाँच अर्ब बचत

Post Date : August 12, 2016 | 5:02 pm

बागलुङ, २८ साउन । धवलागिरि अञ्चलका चारवटा जिल्लामा रहेका सहकारी संस्थामा कुल बचत रकम रु पाँच अर्ब चार करोड ८५ लाख रहेको छ ।

बढी ब्याज पाइने हुँदा सहकारीमा बचतकर्ताको आकर्षण बढेको हो । सहकारीले समुदायमा बचत गर्ने बानीको विकास समेत गराएको छ । सहकारीमा जम्मा भएको बचत रकमले लगानी वृद्धि गरेको छ ।

डिभिजन सहकारी कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी बागलुङका सहकारीमा रु दुई अर्ब ५७ करोड ७६ लाख ३६ हजार बचत छ भने म्याग्दीका सहकारीमा रु दुई अर्ब ११ करोड २६ लाख ४४ हजार, पर्वतका सहकारीमा रु ३५ करोड ७९ लाख ४७ हजार र मुस्ताङका सहकारीमा रु दुई लाख ७३ हजार बचत छ । सहकारीमा बचत भएको रकम व्यापार, कृषि, पशुपालन, जग्गा, साना उद्योग लगायतका क्षेत्रमा लगानी हुने गरेको छ ।

लगानीको ठूलो हिस्सा व्यापार, व्यवसायले ओगटेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य रामबहादुर जिसीले बताउनुभयो । अन्य वित्तीय संस्थाको तुलनामा ब्याजदर बढी हुने हुँदा सहकारीमा बचत वृद्धि हुँदै गएको उहाँको भनाइ छ । धवलागिरि क्षेत्रका सहकारीले अधिकतम १४ प्रतिशतसम्म ब्याजमा बचत लिने गरेका छन् । ऋण लगानी भने चार प्रतिशतसम्म ब्याज बढाएर गर्ने गरेका छन् ।

लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, वित्तीय प्रगति जस्ता क्षेत्रमा सहकारीले ठूलो योगदान पुरयाएको डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक दिलबहादुर केसीले बताउनुभयो । ग्रामीण अर्थतन्त्रको मुख्य हिस्सेदारी सहकारीले लिँदै गएको छ । बचत बढेसँगै ऋण लगानी पनि वृद्धि भएको छ । धवलागिरि भरिमा सहकारीमार्फत करिब रु सात अर्ब ऋण लगानी भएको छ भने सबैभन्दा बढी बागलुङका सहकारीले रु चार अर्ब २३ करोड ११ लाख १२ हजार ऋण लगानी गरेका निरीक्षक केसीले जानकारी दिनुभयो ।

म्याग्दीका सहकारीले रु दुई अर्ब ३० करोड १४ लाख दुई हजार र पर्वतका सहकारीले रु ४६ करोड ३४ लाख ५७ हजार ऋण लगानी गरेका छन् । मुस्ताङका सहकारीले रु दुई लाख ४० हजार ऋण लगानी गरेका छन् । सेयर वृद्धि, बचत, लगानीलगायत गरी सहकारीले वर्षमा अर्बौंको कारोबार गर्ने गरेका छन् । बागलुङमा ४६१, पर्वतमा ३३१, म्याग्दीमा २१३ र मुस्ताङमा ३८ गरी धवलागिरिमा एकहजार ४३ सहकारी दर्ता छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *