‘सहकारी विधेयक’ चाँडो ल्याउन माग

Post Date : March 19, 2017 | 5:25 pm

काठमाडौँ, ६ चैत । सहकारी पीडित सङ्घर्ष समितिले व्यवस्थापिका–संसद्, अर्थ उपसमितिमा छलफलका क्रममा रहेको ‘सहकारी विधेयक’ चाँडो ल्याउन माग गर्दै आज माइतीघरमा धर्ना दिएको छ ।

विभिन्न सहकारीबाट ठगिएका पीडितले आफ्नो रकम फिर्ता गराउनका लागि माग गरेका हुन् । सो विधेयकमा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि केही व्यवस्था गरिएको बताइएको छ ।

उक्त कार्यक्रममा वृद्धवृद्धा तथा युवाले सहकारीको माध्यमबाट देश तथा जनतालाई ठगी गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिलाउनुपर्ने, सरकारले पीडितलाई सम्बोधन गर्नका लागि पूर्वन्यायाधीश गैरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले बुझाएको प्रतिवेदनका आधारमा कानुन निर्माण गर्नुपर्नेलगायत माग गरेको प्लेकार्ड र तुल बोकेका थिए ।

सो कार्यक्रमका संयोजक मधुसूदन प्याकुरेलले देशभर एकस य ३० सहकारीले करिब २५ हजार निक्षेपकर्ताको करिब रु १५ अर्ब ठगी गरेको बताउँदै सरकारले सम्बन्धित सहकारीको सम्पत्तिलाई लिलाम गराएर रकम असुल गरी पीडितलाई उपलब्ध गराउन माग गर्नुभयो ।

पीडित प्रेम स्थापितले पाँच वर्ष अगाडि आफूले जोरपाटीको जग्गा बेचेर ओरेन्टियल कोअपरेटिभमा रु ८० लाख निक्षेप गरेको बताउँदै पछि सो संस्था भागेकाले आफू अलपत्र परेको बताउनुभयो ।

अर्का पीडित सिर्जना रुपाखेतीले सो विधेयक ल्याउनका लागि संवैधानिक निकायका प्रमुखलगायत सबैलाई ध्यानाकर्षण गराइएको भए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको जानकारी गराउनुभयो । धर्नाका समयमा सार्वजनिक यातायात आवतजावतमा केही अवरोध पुगेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *