साउदीमा समस्यामा पर्ने नेपाली बढ्दो

Post Date : September 30, 2016 | 6:22 pm

काठमाडौँ, १४ असोज । साउदी अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कार्यरत नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको छ ।

प्रवासी नेपाली समन्वय समितिले आज यहाँ पत्रकार सम्मेलन गरी गत असारदेखि साउदीमा कार्यरत कामदार समस्या पर्ने क्रम उल्लेख्य रुपमा वृद्धि हुँदै गएको जानकारी दिएको छ । समितिमा असारपछि कामदार अलपत्र परेको ८४, तलब र काम फरक परेको ३४, तलब तथा अन्य सुविधा नपाएको १४, बाध्यकारी श्रममा लगाएको सात, राहदानी नवीकरणमा समस्या परेको दुई गुनासो सहितको निवेदन आएको जनाइएको छ ।

सुरक्षित आप्रवास परियोजना (सामी) अन्तर्गत संस्थाले १८ जिल्लाका सूचना केन्द्र र समितिको केन्द्रीय कार्यालय मार्फत पछिल्लो नौ महिनामा साउदी अरब सम्बद्ध ३०१ निवेदन परेको समितिका परियोजना संयोजक कृष्णशोभा सुवालले जानकारी दिनुभयो । तीमध्ये मृत्यु भएको ७३, भने अनुसारको काम र तलब नपाएको ५२, तलब नपाएको ३८, स्वास्थ्य समस्या ३६, कारागारसम्बन्धी २०, सम्पर्कविहीन १४, बेचबिखन चार लगायत निवेदन परेका छन् । साउदीमा आवश्यकतानुसार दूतावासमा कर्मचारीको अभाव, उद्धारका लागि साउदी कम्पनीले सहयोग तथा समन्वय नगर्ने, दूतावास र रोजगार संस्थाले एकार्कालाई देखाएर समस्याबाट पन्छिन खोज्ने गरेको समितिले जनाएको छ ।

समितिका अध्यक्ष कुलप्रसाद कार्कीले साउदीमा आर्थिक मन्दी यथावत् रहे यसले विकराल रुप लिन सक्ने भएकाले सरकारले बेलैमा त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले साउदी अरबमा करिब तीन लाख नेपाली रहेको बताए पनि त्यहाँ करिब पाँच लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *