साझाको प्रदर्शनीमा रु छ लाखका पुस्तक बिक्री

Post Date : September 25, 2016 | 10:25 pm

काठमाडौँ, ९ असोज । साझा प्रकाशनको जारी बृहत् पुस्तक प्रदर्शनीमा करिब रु छ लाखका पुस्तक बिक्री भएका छन् ।

यही असोज ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा छ दिनमा नयाँ र पुराना गरी करिब रु छ लाख पुस्तक बिक्री भएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी गराउनुभयो ।

उहाँका अनुसार प्रदर्शनीमा लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ लैनसिंह वाग्देलको ‘मुलुक बाहिर’ तथा पारिजात र बिपी कोइरालाका विभिन्न पुस्तक बढी बिक्री भएका छन् ।

“साझा प्रकाशनबाट प्रकाशित कृति पाठकलाई पढ्ने संस्कृतिको विकास गर्नका लागि प्रदर्शनी गरिएको हो”– उहाँले भन्नुभयो, “प्रदर्शनीबाट उठाएको रकम कर्मचारी तलब खुवाउनका लागि सहयोग मिल्नेछ ।”

दसैँ तिहारमा पाठकलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनी आगामी शनिबारसम्म चल्नेछ । प्रदर्शनीमा २५ देखि ७५ प्रतिशत छुटमा पुस्तक बिक्री वितरण गरिएको उहाँले जानकारी गराउनुभयो ।

काठमाडौँसहित देशभरका १५ सहरमा प्रदर्शनीमा एक हजार ६०० पुस्तक राखिएको छ । काठमाडाँैको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा रहेको साझाको बिक्री कक्षमा प्रदर्शनी चालु छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *