साठी प्रतिशत विप्रेषण अवैधानिक बाटोबाट आउँछ – मन्त्री बोहरा

Post Date : May 19, 2016 | 3:19 pm

काठमाडौँ, ६ जेठ । श्रम तथा रोजगारमन्त्री दीपक बोहराले ४० प्रतिशत मात्रै विप्रेषण वैधानिक बाटोबाट आइरहेको जिकिर गर्नुभएको छ ।

बजेट र वैदेशिक रोजगारीका विषयमा रासससँग कुरा गर्दै मन्त्री बोहराले विपे्रषणलाई वैधानिक बाटोबाट ल्याउन यसपटकको बजेटमा नयाँ कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “अहिले मोटामोटी छ खर्ब विप्रेषण प्रतिवर्ष आएको बताइन्छ । मेरो अनुमानमा बैंकिङ च्यानलबाट ४० प्रतिशत मात्रै आउँछ । बाँकी ६० प्रतिशत अवैधानिक बाटोबाट आउने विप्रषणलाई वैधानिक बाटोमा ल्याउने कार्यक्रम बजेटमा समावेश हुनेछ ।”

विप्रेषणलाई वैधानिक बाटोबाट ल्याउन सम्बन्धित देशसँग सम्झौता वा सम्बन्धित देशका बैंकसँग सम्झौतालगायतका विकल्पबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

यसपटक बजेटमा युवालाई सीपमूलक तालिम दिने विषयलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “युवालाई तालिम दिएर दक्ष बनाउन सके स्वदेशमै पनि काम हुने, विदेशमा पनि काम हुने भएकाले यसमा हामीले जोड दिएका छौँ । उदाहरणका लागि कुनै व्यक्ति मलेसिया जाँदा अदक्ष कामदार भए रु २० हजार कमाउँछ भने तालिम लिएर त्यही कामदार दक्ष भएर जाँदा रु ४० हजार कमाउँछ ।”

दक्ष कामदार पठाउँदा विप्रेषणसमेत बढ्ने र देशको अर्थतन्त्रसमेत बलियो हुने उहाँको धारणा छ ।

मन्त्री बोहराले भन्नुभयो – “युवालाई तालिम दिनसके एकातिर विदेशमा जानेले राम्रो कमाइ गर्छन्, अर्कोतर्फ भूकम्पपछिको पुनːनिर्माणका लागि देशभित्रै सात लाख घर बनाउने दक्ष जनशक्ति पनि उत्पादन हुन्छन् ।”

विदेश गएका कामदारलाई कल्याणकारी कोषका लागि अनलाइनबाट रकम तिर्न सकिने, विमानस्थलबाटै पुनः श्रम स्वीकृति लिन पाइने जस्ता विषय पनि बजेटमा समावेश गर्न लागिएको उहाँले बताउनुभयो ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत क्षेत्र ओगट्ने आफ्नो मन्त्रालयलाई कमजोर मन्त्रालयको रुपमा यसअघि परिभाषित गरिएकामा उहाँको गुनासो थियो ।

आफ्नो कार्यकालमा मन्त्रालयलाई बलियो र गतिशील बनाएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो – “पहिलोपटक मन्त्री आफैँ विमानस्थलमा गएर बिदेसिन लागेका कामदारको तीन घन्टा अनुगमन गरें, श्रम कार्यालय ताहाचलमा आफैँ गएर छापा हान्ने काम गरें । म आएपछि प्रहरीको सहयोगमा १८ म्यानपावरमा छापा हानें । ठगीका धेरै मुद्दा चलाएँ, पीडितको उद्धार गरें । मेरो कार्यकालमा मन्त्रालय चलायमान भएको सबैले महसुस गरेका छन् ।”

वैदेशिक रोजगार व्यवसायीसँगको जारी वार्ता छिट्टै टुङ्गिने आशा प्रकट गर्दै उहाँले व्यवसायीको जायज माग मान्न तथा सेवा शुल्क पुनरवलोकनको विषयमा समेत छलफल गर्न तयार रहेको बताउनुभयो ।

निःशुल्क टिकट र प्रवेशाज्ञाको निर्णयबाट भने सरकार पछि नहट्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो – “निःशुल्कबाहेक व्यवसायीले भनेको कर, व्यवसायलाई व्यवस्थित बनाउने लगायतका विषयमा सहमति गर्न सकिन्छ ।”

मन्त्री बोहराले साउदी अरबसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै एक महिनाभित्र सम्झौता भइसक्ने बताउनुभयो ।

उहाँका अनुसार साउदीबाहेक जोर्डन, लेबनान र मलेसियासँग पनि श्रम सम्झौताबारे सकारात्मक दिशामा छलफल भइरहेको छ । (किरण भट्टराई) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *