साधन परिचालन नहुँदा आर्थिक विकास कमजोर

Post Date : January 22, 2017 | 3:17 pm

बैंकिङ प्रणालीमा तरलताको अवस्थामा निकै उतार चढाव आइरहेको देखिन्छ । तपाईं निकै लामो समय नेपाल राष्ट्र बैंकमा कार्यरत रहनु भयो । तपाईंको विश्लेषणमा तरलताको यस्तो अवस्थाका कारण के हुन् ?

अहिले तरलताको अवस्था हेर्दा अलिकति कमजोर बैंकहरूमा कमजोर व्यवस्थापनमा समस्या देखापरेको छ । यो किन यस्तो भयो भनेर हेरयौं भने पहिलो त बैंकहरूले बढी दरले कर्जा प्रवाह गर्दा तिनको तरलता व्यवस्थापन कमजोर भयो भने अर्कातिर सरकारी क्षेत्र भनेको एकदम ठूलो क्षेत्र हो । सरकारी क्षेत्रमा खासगरी विकास निर्माणका कामहरु अलिकता कमजोर अवस्थामा रहेकोले सरकारी क्षेत्रको ट्रेजरीमा अत्यधिक बचत नगद सञ्चित भएको छ । त्यसले गर्दा पनि तरलता कम भएको हो । यो त बजारमा आउनुपर्ने तरलता सरकारको खातामा जम्मा हुने भयो । त्यसले गर्दा पनि तरलता प्रवाहलाई असर पारेको छ । तर यो अल्पकालीन अवस्थामा यस्तो भइराख्ने हुन्छ । तरलता व्यवस्थापन गर्नलाई, यसलाई सही ठाउँमा ल्याउनलाई राष्ट्र बैंकको मौद्रिक नीतिको महत्वपूर्ण भूमिका हुन्छ । मौद्रिक नीतिको प्रमुख भूमिका तरलता व्यवस्थापन गर्ने हो, तर त्यसमा केही समस्या भएको हो कि जस्तो देखिन्छ ।

नेपाल आर्थिक विकासमा पछाडि पर्नुको कारण के हो?

आफ्नो साधनको प्रयोग गर्न नसक्नु सबैभन्दा मुख्य कुरा हो । देशमा भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, प्रविधिजन्य स्रोतसाधन आदिको परिचालनमा सन्तुलन छैन । देशमा उपलब्ध संशाधनको प्रयोग नगर्ने अनि आफूलाई चाहिने कुराहरू भने आयात गर्ने मात्र प्रवृत्तिले आर्थिक विकास पछाडि परेको हो । अर्थतन्त्रमा रहेका जति पनि साधनहरु छन्, तिनको पूर्ण उपयोग हुनेगरी लगानी विस्तार गर्नको लागि सघाउ पुग्ने खालको नीति–नियम सरकारले देशमा लागू गरयो भने देश विकास सम्भव हुन्छ ।

देशमा उपलब्ध संशाधनको प्रयोग नगर्ने अनि आफूलाई चाहिने कुराहरू भने आयात गर्ने मात्र प्रवृत्तिले आर्थिक विकास पछाडि परेको हो ।

यहाँको मूल्यांकनमा देशको अर्थतन्त्रको वर्तमान अवस्था कस्तो छ?

देशको अर्थतन्त्रको मापक कुल गार्हस्थ उत्पादनको स्थिति नेपालको सन्दर्भमा त्यति सकारात्मक देखिँदैन । जहिले पनि हाम्रो लक्ष्य बढी हुन्छ, तर वास्तविक स्थिति त्योभन्दा कम हुन्छ । उदाहरणको लागि विगतका दुई त्रिवर्र्षीय योजनाहरू बाह्रौं र तेह्रौं योजनाका ६ वर्षमा हामीले वार्षिक ६.२ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएका थियौं । तर वास्तवमा हाम्रो आर्थिक वृद्धिदर वार्षिक ३.६ प्रतिशत मात्र हासिल हुन सक्यो । विभिन्न कारणले लक्ष्यभन्दा कम उपलब्धी भइरहेको छ । चालू आवको बजेटले ६.५ प्रतिशतको वृद्धिदर लक्ष्य निर्धारण गरेको छ । तर अहिलेसम्मको अवस्था हेर्दा लक्ष्य पनि हासिल नहुने देखिएको छ । हुन त खाद्यान्न बालीतर्फ धानको उत्पादन धेरै बढ्यो भन्ने छ, जसको उत्पादन २१–२२ प्रतिशत वृद्धि हुने भनिए पनि समग्रमा देशको आर्थिक वृद्धिदर आईएमएफ र वल्र्ड बैंकले अनुमान गरेअनुसार ४ देखि ५ प्रतिशत सम्म हासिल हुन सक्छ कि भन्ने अवस्था छ ।

अर्थतन्त्रको अर्को प्रमुख सूचक मुद्रास्फीतिको अवस्था भने कस्तो छ त?

देशमा मुद्रास्फीतिको अवस्था उत्पादनको तुलनामा ठ्याक्कै उल्टो छ । विगत दुई त्रिवर्षीय योजनाहरूमा हामीले वार्षिक रुपमा ७ प्रतिशतको मुद्रास्फीतिदर कायम हुने अनुमान गरेका थियौं तर यी ६ वर्षमा वास्तविक मुद्रास्फीतिदर ९ प्रतिशतको हाराहारीमा छ । त्यसैले दुई प्रतिशत बढी बिन्दुले मुद्रास्फीति छ । यो आर्थिक वर्षमा बजेटले साढे ८ प्रतिशतको मुद्रास्फीतिको प्रक्षेपण गरेको छ । यो लक्ष्य भने लगभग हासिल हुने देखिन्छ ।

देशमा मुद्रास्फीतिको अवस्था उत्पादनको तुलनामा ठ्याक्कै उल्टो छ । विगत दुई त्रिवर्षीय योजनाहरूमा हामीले वार्षिक रुपमा ७ प्रतिशतको मुद्रास्फीतिदर कायम हुने अनुमान गरेका थियौं तर यी ६ वर्षमा वास्तविक मुद्रास्फीतिदर ९ प्रतिशतको हाराहारीमा छ।

तेस्रो प्रमुख परिसूचक शोधान्तर बचत केही कमजोर देखिएको छ नि?

तपाईंले ठिकै भन्नु भयो । विगतको तुलनामा अहिले शोधानान्तर स्थिति केही कमजोर छ । तैपनि हाम्रो मौद्रिक नीतिको लक्ष्यअनुसार ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुुने गरी शोधानान्तर बचतको स्थिति रहनेछ भन्ने हाम्रो लक्ष्य छ । अहिलेसम्म वस्तु तथा सेवा आयात १ वर्षको लागि धान्न पुग्ने शोधानान्तरको अवस्था छ । त्यसैले शोधानान्तरको अवस्था सन्तोषप्रद नै मान्नु पर्ने हुन्छ । तर, विगतको तुलनामा यो अलिकता घट्दै गएको छ । किनभने रेमिट्यान्सको वृद्धिदर विगत वर्षमा भन्दा अहिले कम भएको छ ।

नेपालमा लगानी अभिवृद्धिको परिदृश्य कस्तो देख्नुभएको छ ?

लगानी अभिवृद्धिको अवस्था अहिले तत्काल हेर्दा केही सन्तोषप्रद अवस्था देखिएको छ, लगानीको लागि हैन । स्वदेशी अथवा सरकारलाई प्राप्त हुने वैदेशिक सहायता पुनःनिर्माणका लागि अझ विशेषतः भुइचालोको पुनःनिर्माणमा पनि यो साधन प्राप्त भएको छ । त्यसैले यो केही न केही राम्रो पक्ष त्यसमा देखिन्छ । तर पनि दीर्घकालीन रुपमा नेपालको लगानी प्रवर्द्धन गर्नको लागि यसमा अवरोध भएका चिजहरु के के हुन? के के कुराले गर्दा लगानी विस्तार हुन सकिरहेको छैन? त्यसमा समाधान खोज्नुपर्ने हुन्छ । केले गर्दा लगानी प्रवर्द्धन हुँदैन भन्ने पक्षमा हेर्दा लगानीको लागि यातायात, ऊर्जा, बजार प्रमुख पक्ष हुन् भने देशका प्रमुख नीतिहरू जस्तो व्यापार, उद्योग वा भन्सार नीति आदिले असर पारिरहेको हुन्छ, पूर्वाधार विकासका कुराहरु छन् । र यहीँको बजार व्यवस्थापन गर्ने, विकास गर्ने कुराहरु छन् । त्यसैले नेपालीको श्रमको पनि यहीँ उपयोग गर्न सके अझ राम्रो हुन्छ, देशको लगानीको लागी । देशको आफ्नो लगानीका लागि यहीँको श्रम, यहीँको पँुजी, यहीँको प्रविधि परिचालन गर्न सकिन्छ, तर प्रविधिका हकमा भने आयात गरेर उपयोग गर्न सकिन्छ, त्यसमा प्रतिष्पर्धी प्रविधि भने चाहिन्छ ।

भारतीय ५ सय र हजार दरका नोट प्रतिबन्धले नेपालमा कस्तो असर परिरहेको छ ?

नेपालमा नेपाली रुपैयाँबाहेक अरु विदेशी रुपैयाँ त व्यक्तिहरुले राख्न त पाउँदैनन्, कानुनीरूपमा वैध पैसा नेपाली रुपैयाँ नै हो । तर पनि नेपालमा भारु चलिरहेको छ । प्राप्त भयो त्यो बुझाउन जाँदा त अलिकति समय त लाग्छ नै । भारतको निर्णयअनुसार त ठूला दरका भारु नचल्ने भएको छ । यसबाट त्यस्ता व्यक्तिहरुलाई असर पर्ने हुन्छ, जो भारतको आयातनिर्यात व्यापारमा संलग्न थिए । अर्को चाहिँ बोर्डर ट्रेडमा यसको असर परेको छ । खुल्ला सिमाना भएकोले बोर्डर ट्रेडमा पनि ठूलै असर परेको हुन सक्छ । तैपनि यो भारतीय रिर्जभ बैंक र भारतीय सरकारको निर्णय भएकाले नेपालले केही भन्न सक्ने अवस्था भएन । त्यसमा अब राष्ट्र बैंक र सरकारले पहल गरिरहेकै होला । के हुन्छ अब भविष्यमा थाहा भइहाल्छ ।

शेयर बजारको हालको उतार–चढावको गति कस्तो हो?

हाम्रो शेयर बजारको गति ठ्याक्कै यही प्रवृत्तिबाट हिँडेको छ भन्न सकिन्न । एउटा कुरा के हो भने शेयर छिटो रफ्तारले अगाडि बढ्यो भने फेरि केही समयपछि त्यो अलिकता घट्ने पनि हुन्छ । त्यसलाई बजारको भाषामा ‘सेल्फ करेक्सन’ भनिन्छ । बजार सँधै बढ्ने अवस्था हुँदैन । केही बढेपछि घट्ने गति नै हुन्छ । यसका साथै, यसको परिचालनमा बैंकको ब्याजदरले पनि प्रभाव पारिरहेको हुन्छ । मुद्रा बजारमा ब्याजदर बढ्यो भने पूँजीबजार अलि घट्छ । उता ब्याज कम हुँदा यता बढ्छ । यी दुईबीच उल्टो सम्बन्ध हुन्छ । अर्को कुरा के हो भने हाम्रो पूँजी बजारमा वित्तीय क्षेत्र नै प्रमुख हिस्सेदार हो । वित्तीय क्षेत्रको अहिलेको अवस्थाले पनि लगानीकर्तामा मनौवैज्ञानिक प्रभाव परेको हुनसक्छ ।

हाम्रो शेयर बजारको गति ठ्याक्कै यही प्रवृत्तिबाट हिँडेको छ भन्न सकिन्न । एउटा कुरा के हो भने शेयर छिटो रफ्तारले अगाडि बढ्यो भने फेरि केही समयपछि त्यो अलिकता घट्ने पनि हुन्छ । त्यसलाई बजारको भाषामा ‘सेल्फ करेक्सन’ भनिन्छ । बजार सँधै बढ्ने अवस्था हुँदैन । केही बढेपछि घट्ने गति नै हुन्छ ।

विप्रेषण आय उत्पादनमूलक क्षेत्रमा खर्च नहुँदा अर्थतन्त्रमा कस्तो असर पर्छ ?

यो यस्तो साधन हो, जुन हाम्रो नेपाली श्रम, श्रमको प्रतिफलमा देशभित्र आइरहेको छ । नेपालका काम गर्ने मानिसहरू नेपाली सक्रिय श्रमको उपयोग गरेर प्राप्त गरेको रकमबाट हाम्रो पूँजी निमार्णमा, दीर्घकालीन लगानीमा उद्योगधन्दा कलकारखानाहरू खोल्नेजस्ता कुराहरूमा त्यो पैसा गएको भए बहुत राम्रो हुन्थ्यो, पछिलाई पनि, भविष्यका पुस्तालाई पनि तर यो त्यस्तो नभएर उपभोगमा मात्र जाँदा तत्काल उपभोग गर्नेलाई त राम्रो भयो तर पछि ती श्रमशक्ति सक्रिय नहुने अवस्थामा त्यसको प्रतिफल देखिँदैन । त्यसैले देशको अर्थतन्त्रकै विस्तारमा यो उपयोग गर्न सक्ने वातावरण हामीले बनाउनु पर्छ । बढी भन्दा बढी साधन देशको उपयोगमै र अर्थतन्त्रको दीर्घकालीन विकासमै पूँजी निर्माणमा, लगानीमा, उद्योगधन्दामा, कृषिको आधुनिकीकरण र विकासमै लगाउनु पर्छ यो रकम ।

प्रस्तोता– अरुणा सुवेदी, बैंकिङ प्रवर्द्धन

Leave a Reply

Your email address will not be published. Required fields are marked *