साफाको सम्मेलन काठमाडौँमा शुरु

Post Date : January 31, 2018 | 8:15 am

काठमाडौँ, १६ माघ । दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) को सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।

सदस्य संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनको औपचारिक उद्घाटन बुधबार हुने भएपनि आजदेखि साफाका विविध कार्यक्रम शुरु भएको छ ।

यही १८ सम्म चल्ने सम्मेलनमा लेखा तथा वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीता र व्यवस्थापनसम्बन्धी सम्मेल, उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति अवार्डलगायत कार्यक्रम रहेको छ । त्यस्तै साफा एवार्ड वितरण तथा आइक्यानको २१ औँ वार्षिकोत्सव मनाइने संस्थाले जनाएको छ ।

सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ ख्यातिप्राप्त लेखा व्यवसायीले कार्यपत्र प्रस्तुत गर्नेछन् भने ४०० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखा व्यवसायीको सहभागिता रहनेछ ।

सम्मेलनको पहिलो दिन आज साफा (क्विज एण्ड एलोक्युसन कन्टेस्ट) आयोजना गरियो । प्रतियोगितामा सदस्य राष्ट्रका व्यावसायिक लेखा सम्बद्ध निकाय तथा संस्थाका फाइनल तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।

प्रतियोगितामा जम्मा १२० अंकका साथ नेपाल प्रथम भएको छ भने १०५ अंकका साथ पाकिस्तान दोस्रो भएको छ । विजेतालाई क्रमशः प्रथम नगद रु ३० हजार र उपविजेतालाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन मन्तव्य दिँदै आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले मुलुकमा वित्तीय सुशासन र आर्थिक पारदर्शीता कायम गर्न दक्ष जनशक्ति उत्पादन गर्न यस्तो सम्मेलन उपयोगी हुने बताउनुभयो ।

साफाका अध्यक्ष डा सुबोध कर्णले सार्क क्षेत्रको लेखा व्यवसायलाई थप व्यावसायिकीकरण गर्न र एक अर्काको सीप र ज्ञान आदानप्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।

साफा एजुकेशन समितिका प्रमुख अतुल गुप्ताले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताले लेखा व्यवसायमा लाग्ने विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । साफाका विभिन्न सातवटा समितिको बैठक चलिरहेको छ ।

बैठकमा दक्षिण एसियाली मुलुकका साफा सदस्य संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त बैठकमा सार्क क्षेत्रका लेखा, सुशासन तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षासम्बन्धी मान, मापदण्ड तथा प्रचलनमा एकरुपता र मार्गनिर्देशन पहिल्याउने र सहकार्य गर्ने विषयमा छलफल भई निर्णय हुने आइक्यानका अध्यक्ष थापाले बताउनुभयो ।

सार्क देशहरुमा प्रत्येक वर्ष गरिने सम्मेलन यो वर्ष नेपालमा गरिएको हो । सन् २०१८ का लागि नेपाल साफा अध्यक्ष रहेको छ । यसअभि गत अगष्ट महिनामा समेत साफाको बैठक नेपालले बोलाएको थियो ।

सन् २०१८ मा स्थापना भएको साफामा प्रत्येक वर्ष अध्यक्ष परिवर्तन गर्ने प्रावधान रहेको छ । नेपालले सन् २०१० मा साफाको अध्यक्षता गरेको थियो भने अहिले दोस्रोपटक नेपाल अध्यक्ष बनेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *