सार्कबाट बिदेसिने कामदारको सेवासुविधाको मापदण्ड बनाइँदै

Post Date : May 3, 2016 | 2:58 pm

काठमाडौँ, २१ वैशाख । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मा आबद्ध राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने कामदारका सेवासुविधाका विषयमा न्यूनतम समान मापदण्ड बनाइने भएको छ ।

राजधानीमा आजदेखि सुरु भएको ‘आप्रवाससम्बन्धी सार्क सहकार्यको कार्ययोजना’ विषयक कार्यशालामा सहभागी सार्कमा आबद्ध आठवटै राष्ट्रका श्रम तथा रोजगार सम्बद्ध मन्त्रालयका उच्च अधिकारीहरुले सो मापदण्ड बनाउन लागेका हुन् । भेलाले सार्क राष्ट्रबाट बिदेसिने कामदारको न्यूनतम तलब, सेवा, सुविधा, हक अधिकारको न्यूनतम मापदण्ड बनाउन र उनीहरुका समस्या समाधानका लागि साझा रणनीति बनाउने छ ।

कार्यशालाको उद्घाटन गर्दै श्रम तथा रोजगारमन्त्री दीपक बोहराले सार्क राष्ट्रका कामदारको गन्तव्य मुलुक र समस्या एउटै रहेकाले मिलेर जानका लागि योजना बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले गत वर्ष नेपालमा सम्पन्न १८औँ सार्क सम्मेलनले आप्रवासको विषयलाई पहिलो पटक घोषणापत्रमा समावेश गरेको भन्दै आउँदो सार्क सम्मेलनले यस विषयमा ठोस योजना बनाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बोहराले सार्क राष्ट्रबाट मात्रै तीन करोड ६० लाख व्यक्ति वैदेशिक रोजगारीका लागि विदेशिएको तथ्याङ्क प्रस्तुत गर्दै वैदेशिक रोजगारीसँगै जोडिएर आएको मानव बेचबिखनविरुद्धसमेत सार्क राष्ट्रको ऐक्यबद्धता आवश्यक रहेकामा जोड दिनुभयो ।

मन्त्रालयका सचिव विष्णु लम्सालले कामदारको सेवा, सुविधा, र सुरक्षामा सार्क राष्ट्रको साझा आवाज आवश्यक रहेको धारणा राख्नुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव मणि भट्टराईले आप्रवास विश्वकै प्रमुख कार्यसूचीमा परेकाले कामदारका हितका लागि योजना बनाउन कार्यशाला सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले सार्क राष्ट्रहरुबीच पहिलो पटक कार्यशाला भइरहेकाले कामदारका समस्या समाधानका लागि कार्ययोजना बनाउने जानकारी दिनुभयो । कार्यशालामा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, अफगानीस्तान, माल्दिभ्स, श्रीलङ्का र भुटानका श्रम तथा रोजगारसम्बन्धी सरकारी अधिकारीहरुको सहभागिता रहेको छ ।

बुधबार सम्पन्न हुने कार्यशाला एउटै मापदण्ड बनाए गन्तव्य मुलुकसँग सौदाबाजी गर्न सफल हुने तथा कामदारले अहिले पाउँदै आएको सेवा, सुविधामा बढोत्तरी हुने विश्वास लिइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *