सिंगापुरबाट एक करोड डलर आज आउँदै

Post Date : November 14, 2016 | 9:27 am

काठमाडौँ, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले सिंगापुरको सीएमआइबी बैंकबाट ल्याउन लागेको १ करोड नगद अमेरिकी डलर आज काठमाडौँ आइपुग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैया (भारु) अभाव भएको बेलामा भारतबाट भारु ल्याउने गरेको भएता पनि नगद अमेरिकी डलर भने पहिलो पटक ल्याउन लागेको हो ।

केही वर्षयता नेपाल आउने पर्यटकले नगद डलरको साटो कार्ड प्रयोग गर्न थालेकोले पनि डलर अभाव हुँदै आएको थियो । त्यसमा पनि अलि अलि आउने डलर पनि चिनिया व्यापारीले नगदै डलर लैजाने गरेका थिए ।

नेपाल राष्ट्र बैंकले विदेश जाने प्रत्येक व्यक्तिलाई २ हजार ५ सय अमेरिकी डलर दिने व्यवस्था गरे पनि डलर अभावका कारण वाणिज्य बैंकहरूलाई ५ सय अमेरिकी डलरभन्दा बढी नदिन निर्देशन दिएको थियो ।

नेपालका कतिपय बैंकहरूको कार्डमा त्यति सुरक्षा प्रणाली नभएका कारण विदेशका बैंकले त्यस्ता कार्ड स्वीकार नगर्ने गरेको पनि पाइन्छ ।

नेपालीहरूले कार्डभन्दा सकेसम्म अमेरिकी डलर नगदै लिएर जाने गरेको पाइन्छ । कार्ड लिएर जाँदा कुनै कारणले पैसा झिक्न नसेकमा बिचल्ली हुने भएकोले नगद डलर लिएर जान नै रुचाउँछन् ।

नेपाल राष्ट्र बैंकले दशैँअघि डलर खरिद गर्ने निर्णय गरेको थियो भने दशैँ लगत्तै डलर खरिदसम्बन्धी सम्झौता गर्न काठमाडौँ बैंकिङ्ग कार्यालयका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीलाई सिंगापुर पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *