सिरियाको संघर्ष ६ वर्षमा प्रवेश

Post Date : March 25, 2016 | 9:16 am

एजेन्सी, ३ चैत । सिरियामा राष्ट्रपति बसर अल असदबिरुद्धको प्रदर्शन र त्यसपछि शुरु भएको गृहयुद्ध ६ वर्षमा प्रवेश गरेको छ । बिगत पाँच बर्षको अवधिमा भएको संघर्षकै क्रममा दुई लाख भन्दा बढीको ज्यान गएको छ भने लाखौं पलायन भएका छन् । यसैबीच सिरियाली जनताका लागि काम गर्ने संस्था द भ्वालेसन्ज डकुमेन्टेन्सन सेन्टरले संघर्षका क्रममा मारिएका बालबालिकाको नाम सार्वजनिक गरेको छ । यद्यपी नाम हेर्नका लागि सम्बन्धित परिवारका सदस्यलाई १९ घण्टाको समय लाग्ने गरेको छ । सन् २०११ देखि शुरु भएको प्रदर्शनपछि चर्किएको संघर्षमा सन् २०१२ देखि सिरियाली सेनाले मोर्टार आक्रमण गरी सर्वसाधारणको हत्या गर्न थालेको र सन् २०१५ सम्ममा हवाई हमलासम्म हुन थालेको सो संस्थाको भनाई छ । संयुक्त राष्ट्रसंघका अनुसार सिरियामा अहिले पनि १ करोड ७९ लाख जनता छन् । संघर्ष शुरु हुनु अघि त्यहाँको जनसंख्या २ करोड ४५ लाख रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । सिरियामा अन्य शहरको तुलनामा दमास्कसको जनजीवन सामान्य हुन थालेको र अझै पनि १ करोड ३५ लाख मानिसलाई सहायता आवश्यक भएको औंल्याइएको छ । पाँच बर्षसम्म चलेको संघर्षका कारण सिरियाको अर्थव्यवस्था तहस नहस हुनुका साथै २ सय २५ अर्व डलर घाटा भएको छ भने बेरोजगारी दर ५० प्रतिशत पुगेको छ । ७० प्रतिशत जनता भोकमरीको शिकार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *