सीसीटिभी निगरानीमा बेनीबजार

Post Date : November 30, 2016 | 4:05 pm

बेनी (म्याग्दी), १५ मङ्सिर । म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षाका लागि सीसीटिभीमार्फत निगरानी सुरु गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ म्याग्दीको पहलमा रु १५ लाखको लागतमा बेनी बजारका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गर्न सुरु गरिएको हो ।

बजारको निगरानीका लागि विभिन्न १६ स्थानमा सीसीटिभी राखिने भएको छ । जसमध्ये अहिलेसम्म आठवटा सीसीटिभी राखिएको छ भने बाँकी आठवटा पनि जडान गर्ने तयारी भइरहेको उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताउनुभयो ।

बजारमा घट्ने आपराधिक क्रियाकलापको न्यूनीकरण गर्नमा सहयोग पुरियाउने उद्देश्यले कालिपुल, क्याम्पसचोक, न्युरोड, बालमन्दिर चोक, सहिद स्मृतिचोक र सङ्गमचोक क्षेत्रमा सिसी क्यामेरा जडान गरिसकिएको छ भने बाँकी अन्य मुख्य बजार क्षेत्रका चोकमा जडान गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

परीक्षणका रुपमा सीसीटिभी जडान गरिएका ठाउँमा मनिटरमार्फत निगरानी गर्न सुरु गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

जडान गरिएको सीसीटिभीको फुटेज प्रहरी कार्यालयकै मनिटरमा देखिने व्यवस्था मिलाइएको प्रनाउ खड्काले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *