सुनकोसी जलविद्युत् केन्द्रबाट उत्पादन बृद्धि

Post Date : August 30, 2016 | 11:17 am

चौतारा, १४ भदौ । भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत् केन्द्रबाट थप विद्युत् उत्पादन भएको छ ।

बाढीले पुरिएको क्षतिग्रस्त २ नम्बर ढोकालाई सफा गरी पूरै बन्द हुने अवस्थामा पुगेपछि एउटा टर्वाइन चालु गरी ३.५ देखि ३.७ मेगावाटसम्म विद्युत् उत्पादन हुन थालेको केन्द्रका उत्पादन प्रमुख सुरज दाहालले बताउनुभयो ।

बाँधका छवटा ढोकामध्ये १ र २ नम्बर ढोका ठूलाठूला ढुङ्गा र गेगरले पुरिएकोमा त्यसलाई हटाएपछि २ नम्बर ढोकामा सफलता मिलेको हो । १ नम्बर ढोकामा पनि ढुङ्गा पन्छाइ सफा गर्ने काम भइरहेको हुँदा एक साताभित्र अर्को टर्वाइन पनि सञ्चालनमा आइ थप विद्युत् उत्पादन हुने प्रमुख दाहालले बताउनुभयो ।

ढुङ्गा र गेगरले बाँधलाई क्षति पुरयाएपछि चुहावट भई नहरमा पूरा पानी पठाउन नसकेपछि दुई साताअघि २.५ मेगावाट मात्र विद्युत् उत्पादन हुँदै आएको थियो । हाल नदीमा पानी कम भएको हुँदा काम गर्न सहज भएकोले अर्को टर्वाइन पनि चाँडै सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणसँग भएको ठूलो क्षमताको एस्काभेटर डेढ दशक पुरानो भएकाले समय समयमा बिग्रिरहने हँुदा मर्मत गर्न दक्ष प्राविधिक उपलब्ध गराउन समस्या भएकाले काम गर्न ढिलाइ भएको प्रमुख दाहालले बताउनुभयो ।

गत असार २१ गते भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त सुनकोसी जलविद्युत् केन्द्रमा तीनवटा टर्वाइन जडान भएको छ । प्राधिकरणको प्राविधिकको अथक प्रयासबाट भदौ १ गतेदेखि २.५ मेगावाट विद्युत् उत्पादन हँुदै आएको सुनकोसी जलविद्युत् केन्द्रले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *