सूर्यमुखी फूलको व्यावसायिक खेती

Post Date : May 30, 2017 | 5:47 pm

रामपुर (पाल्पा), १६ जेठ । कुनै समय घरआँगनका वरिपरि, करेसाबारीमा शौखका रुपमा लगाइने सूर्यमुखी फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ ।

मौरी चरनका लागि सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारण कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । सौन्दर्यताका लागि केही बोट आँगनको डिल, छेउछाउमा लगाउँदै आएपनि सो खेतीबाट मनग्य आम्दानी हुनथालेपछि कृषक त्यसतर्फ आकर्षित भएका हुन् ।

जिल्ला कृषि विकास कार्यालयले निःशुल्क सूर्यमुखी फूलको बीउ वितरण गर्दैआएको छ । बगनासकाली गाउँपालिका– १ ठूलाचौरका कृषकले जनजागृति अगुवा कृषक समूह गठन गरेर व्यावसायिक रुपमा खेती सुरु गरेका छन् । करिब १५ रोपनी जग्गामा लगाएको सूर्यमुखी फूल खेती सोचेभन्दा राम्रोसँग फस्टाएको कृषि सेवा केन्द्र, आर्यभञ्ज्याङका कृषि प्राविधिक सन्तोष जिसीले बताउनुभयो ।

यहाँका कृषकले स्रेस्ता जातको सूर्यमुखीको खेती गर्दैआएका छन् । यसका लागि कृषि कार्यालयले २० किलो बीउ तथा सिँचाइका लागि रु ६० हजार रकम अनुदानमा उपलब्ध गराएको छ । फूलको बियाँबाट तेल उत्पादन तथा डाँठलाई दाउराका रुपमा प्रयोग गर्न सकिने जनजागृति अगुवा कृषक समूहका अध्यक्ष पोषकान्त भण्डारी बताउनुहुन्छ ।

“एक पटकमा तेब्बर बाली उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो । बगनासकालीको ठूलाचौरमा अहिले व्यक्तिगत रुपमा समेत कृषकले सूर्यमुखी फूलको खेती गरिरहेका छन् । कृषि कार्यालयले मौरीको पकेट क्षेत्रका रुपमा सो ठाउँलाई अगाडी बढाएपछि सूर्यमुखी खेतीको विस्तार गरिएको हो । सूर्यमुखी फूलको खेती गर्न थालेपछि मौरीको मह उत्पादनमा समेत वृद्धि भएको भण्डारीले बताउनुभयो ।

सूर्यमुखी फूल बाह्रै महिना फुल्छ । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ बियाँबाट तेल उत्पादन गर्न सकिने जनजागृति अगुवा कृषक समूहका सचिव ज्ञानु अर्याल बताउनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *