सेयर बजारमा घाटा कम गर्ने रणनीति “स्टप लस”

Post Date : October 24, 2016 | 3:56 pm

बजारमा सेयर खरिद–बिक्री नियमित र सामान्य प्रक्रिया हो । हामीले सेयर खरिद गर्दा निश्चित उद्देश्यका साथ खरिद गर्छौ । सबैको आफ्नो आफ्नो रणनीति र दृष्टिकोण हुन्छ । सबै लगानीकर्ताले आफूले खरिद गरेको सेयरको मूल्य बढ्छ भनेर नै खरिद गरेका हुन्छन्, तर सँधै सेयरको मूल्य बढ्दैन । खरिद गरेको केही समयपछि मूल्य ह्रास हुन थाल्छ अनि हाम्रो तनाब सुरु हुन्छ । यसरी सँधै नाफा मात्र आर्जन हुँदैन त्यसैले मूल्य ह्रास हुँदै जाँदा कतिसम्म घाटा बेहोर्न सकिन्छ भन्ने रणनीति अख्तियार गर्नु जरुरी हुन्छ, हैन भने अब बढ्छ कि भनेर कुरेर बस्दा “बिग लस” को सिकार हुन पुगिन्छ । यसरी बिग लसको जालोमा पर्नुअघि हामीले प्रयोग गर्न सक्ने रणनीति भनेको “स्टप लस” एउटा प्रभावकारी रणनीति पनि हो । सेयर बजारमा सेयर खरिद गर्न सजिलो छ तर कहिले बेच्ने भनेर निर्णय गर्न धेरैलाई गाह्रो लाग्ने गर्दछ । सेयर लगानीकर्ताले सँधै नाफा मात्र आर्जन गरेको हुँदैन, घाटा पनि बेहोर्छन र घाटा पनि सकेसम्म कम मात्रामा बेहोर्ने हो भने हामीले “स्टप लस” रणनीति प्रयोग गर्न सक्छौँ ।

के हो स्टप लस

स्टप लस रणनीति सामान्य औजार हो, जहाँ लगानीकर्ताले घाटा कम गर्नका निमित्त आफूले खरिद गरेको सेयरको मूल्य कम हुने बित्तिकै ब्रोकरलाई सेयर बिक्रीको आदेश दिन्छन् । विकसित देशहरुमा स्टप लस अर्डरका लागि आफूले खरिद गरेको सेयरको मूल्य दैनिक हेरी राख्नु पर्दैन, लगानीकर्ताले पहिले नै ब्रोकरलाई निश्चित प्रतिशत सेयरको मूल्यमा गिरावट आउने बित्तिकै बिक्रीका लागि अर्डर बुकमा गएर बस्ने प्रक्रिया हुने गर्दछ । नेप्सेमा त्यस्तो सुविधा नभए पनि हामीले आफैले यो रणनीति अख्तियार गर्न सक्छौँ । यति सामान्य कुरा ख्याल गर्दा हामीले हाम्रो घाटालाई रोक्न सक्छौँ । स्टप लस नामले नै भन्न सक्छौँ, यो घाटा रोक्ने एक प्रभावकारी औजार हो ।

विकसित देशहरुमा स्टप लस अर्डरका लागि आफूले खरिद गरेको सेयरको मूल्य दैनिक हेरी राख्नु पर्दैन, लगानीकर्ताले पहिले नै ब्रोकरलाई निश्चित प्रतिशत सेयरको मूल्यमा गिरावट आउने बित्तिकै बिक्रीका लागि अर्डर बुकमा गएर बस्ने प्रक्रिया हुने गर्दछ ।

मानौं तपाईंले प्रभु बैंकको सेयर रु ५०० मा खरिद गर्नु भयो । तपाईंले प्रति इकाइ रु ५० फाइदा भए बेच्ने उद्देश्यका साथ खरिद गर्नु भयो तर बजारमा केही त्यस्तै प्रतिकूल अवस्था सिर्जना भयो र तपाईंले खरिद गरेको प्रभु बैंकको सेयरको मूल्य घट्न सुरु भयो । तपाईंको स्टप लस ५ प्रतिशत राख्नु भएको छ भने, रु ५०० को ५ प्रतिशतको हिसाबले रु ४७५ मा घाटालाई रोक्न सक्नु हुन्छ । ५ प्रतिशतसम्म पर्ख र हेर भनेर तपाईंले ३–४ प्रतिशत घाटा हुने बित्तिकै धितोपत्र दलाललाई बिक्री आदेश दिन सक्नु हुन्छ । यसरी आफूले सेयर खरिद गरेपछि नाफाको मात्र नभएर कतिसम्म घाटालाई रोक्ने भनेर स्टप लस प्रयोग गर्न सकिन्छ ।

स्टप लस रणनीति सजिलो र सबै किसिमका लगानीकर्ताका लागि उपयोगी भए पनि नेपालमा यसको प्रयोग धेरै कमले मात्र गर्दछन् । प्रायः लगानीकर्ता बुलिस स्वभावका हुन्छन् र आफूले सोचे अनुरुप सेयरको मूल्य बढ्नुको सट्टा घट्न थाल्यो भने कतिसम्म घाटालाई रोक्ने भन्दा पनि बढ्छ कि भन्ने आश राखेर होल्ड पोजिसनमा बस्छन् ।

स्टप लसका फाइदाहरु

  • छोटो समयका लागि सेयर खरिद–बिक्री गर्ने लगानीकर्ता, सट्टेबाजहरुका लागि धेरै उपयोगी सिद्ध भएको छ ।
  • लगानीकर्ताले सोचे अनुरुप सेयरको मूल्य बढेन र उल्टो हुन थाल्यो भने आफूले कति रुपैयासम्म घाटालाई रोक्न सकिन्छ भनेर पहिले निक्र्यौल गर्न सक्छन् ।
  • नया लगानीकर्ताका लागि यो रणनीतिले बजारमा हुने उतार चाढावको तनावबाट मुक्त हुन सहयोग गर्दछ ।
  • केही लगानीकर्ता हुन्छन् जसले भावनात्मक रुपमा सेयर खरिद–बिक्री गर्दछन् । यसरी खरिद–बिक्री गर्नेहरुका लागि स्टप लस सही औजारको रुपमा प्रयोग गर्न सक्दछन् ।

स्टप लसका बेफाइदाहरु

  • प्रायः लामो समय सेयर होल्ड गर्नेहरुका लागि स्टप लस उपयोगी देखिन्न । प्रयोग गर्न सक्छन् तर आफ्नो सेयरको अवस्था सँधै हेरी राख्न नसक्ने लगानीकर्तालाई यो रणनीति उपयोगी छैन ।
  • कुनै कम्पनीको सेयर धेरै उतार चाढाव हुने गर्दछ, त्यस्तो बेला स्टप लस प्रयोग गर्दा केही दिनमै सेयरको मूल्य बढ्दा लगानीकर्ता पछुताउने गर्दछन् । मानौं प्रभु बैंकको सेयर रु ५०० मा खारिद गर्नु भयो, खरिद बिक्रीको चापले केही दिन सेयरको मूल्य घटेर ४९० मा झर्यो र तपाईंले स्टप लस अनुसार बेचिदिनु भयो, फेरी केही दिनपछि प्रभुको सेयर रु ५२० भयो हुन गयो । त्यस्तो बेला स्टप लस प्रयोग गरेर बेच्ने निर्णय सँधै सही ठहर्दैन ।
  • स्टप लस रणनीतिले कहिलेकाहीँ बजारमा बिक्री चाप उच्च हुँदा बजार अस्वभाविक रुपले बियरिस ट्रेन्डतिर जान्छ । यसरी बियरिस ट्रेन्डतिर जाँदा अरु कम्पनी पनि सिकार हुने गर्दछन् । सबैको मूल्य घट्न सुरु हुँदा बजारले अस्वभाविक रुपले लय गुमाउन पुग्छ ।
  • स्टप लसको मात्र प्रयोग गर्दा लगानीकर्ताको विचारशील र विश्लेषणात्मक निर्णय गर्ने क्षमता कम हुँदै जान्छ, त्यसैले सबै सेयरमा यो रणनीति प्रयोग नगर्दा राम्रो ।

हामीले प्रयोग गर्ने धेरै राणनीतिमध्ये यो एउटा अंश मात्र भएको हुँदा विवेक प्रयोग गर्ने क्षमतामा कुनै कमी नआउने गरी प्रयोग गर्दा फाइदामा हुनेछ ।

अन्त्यमा भन्नु पर्दा स्टप लस औजार छोटो समयका लागि सेयर खरिद–बिक्री गर्ने लगानीकर्ताहरुका लागि उपयोगी देखिन्छ भने यदि तपाईंले कुनै कम्पनीको सेयर धेरै मात्रामा खरिद गर्नु भएको छ भने यो रणनीतिको प्रयोग भन्दा पनि आफ्नो विश्लेषणात्मक निर्यण लिँदा राम्रो हुनेछ । हामीले प्रयोग गर्ने धेरै राणनीतिमध्ये यो एउटा अंश मात्र भएको हुँदा विवेक प्रयोग गर्ने क्षमतामा कुनै कमी नआउने गरी प्रयोग गर्दा फाइदामा हुनेछ । अहिले बैंकहरुले बोनस र हकप्रद सेयर जारी गर्दैछन्, त्यस्तो बेला आफूले खरिद गरेको सेयरको मूल्य केही घट्न सक्छ, तर बोनस स्टक वा हकप्रद सेयरका लागि बेच्न भने सकिन्न । त्यही सेयर सर्ट टर्म खेल्ने हो भने उपयोग गर्दा फरक पर्दैन । लगानीकर्ताको उद्देश्य अनुरुप यो रणनीति सेयर बिक्री गर्दा लागू गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *