सेयर बजारमा “जापानी मैनबत्ति विश्लेषण”

Post Date : November 17, 2016 | 6:17 pm

प्राविधिक विश्लेषणको धेरै प्रकारहरूमध्ये “जापानी मैनबत्ति विश्लेषण” एक महत्वपूर्ण र अन्य प्राविधिक विश्लेषणका प्रकारभन्दा फरक र लगानीकर्तालाई बुझ्न धेरै सरल विश्लेषण मानिन्छ। यसलाई अंग्रेजीमा “जापनिज क्यान्डल स्टिक एनालाइसिस” भन्ने गरिन्छ, नेपालमा मौलिक शब्द नभएका कारण पनि स्टक र डेरिभेटिभ लगानीकर्ता र विश्लेषकहरूले “जापानी मैनबत्ति विश्लेषण” नामकरण गरेका हुनाले, मैले पनि यही नाम यहाँ लेखमा प्रयोग गरेको हुँ।

मैनबत्ति विश्लेषण आजभन्दा १०० वर्षअगाडि होम्मा नाम गरेका जापानका चामल व्यापारीले मैनबत्ति विश्लेषण प्रयोगमा ल्याएका थिए। होम्माका अनुसार चामलको मूल्यमा आउने उतार-चढावमा मानिसहरूको मनोविज्ञानले पनि काम गरेको हुन्छ, त्यहीअनुसार उनले भविष्यमा चामलको मूल्य बढ्ने वा घट्ने भनेर मैनबत्ति विश्लेषण गर्ने गर्थे। यो विधि जापानमा पहिलो पटक प्रयोग भएका कारण “जापानी मैनबत्ति” भनिएको हो। १९०० तिर अमेरिकी लगानीकर्ता चार्ल्स डाओले रुपान्तरित चार्टको ढाँचा प्रयोगमा ल्याए तर होम्माले प्रतिपादन गरेका आधारभूत सिद्धान्त भने अहिलेसम्म एउटै छ, प्रयोग र विश्लेषणमा नयाँ तरिका स्थापना भए पनि आधारभूत कुरामा कुनै फेरबदल भएको छैन।

तपाईं हामीले पत्रपत्रिका, लगानीसम्बन्धि वेबसाइट, स्टक बजारको बारेमा जानकारी दिने अनलाइन पोर्टल वा पत्रपत्रिकामामा कम्पनी विश्लेषण भनेर मैनबत्ति विश्लेषण गरेको देख्छौ तर मैनबत्ति विश्लेषणको बारेमा ज्ञान नहुँदा बजारमा भएका मूल्यको उतार-चढावले कस्तो सूचना प्रवाह गर्दैछ भनेर बुझ्न सक्दैनौ र लगानी गर्ने, नगर्ने वा यथावत राख्ने भनेर निर्णय गर्न सक्दैनौ। मैनबत्ति विश्लेषण लगानीकर्ताहरू माझ धेरै लोकप्रिय छ, किनकी एक पटक मैनबत्तिको बारेमा बुझेपछि आफै पनि बजारले अब कता जादैछ भनेर केही हदसम्म बुझ्न सकिन्छ र नेपालमा पनि हामी प्रयोग गर्न सक्छौ, किनकी बजारमा मूल्य र आम मनोविज्ञानले बजारलाई माथि लैजाने वा तल घचेट्ने काम गरेको अर्थात बुल वा बियर बनाउने काम गरेको हुन्छ।

 जापानी मैनबत्ति:

जापानी मैनबत्ति पनि चार्टमा प्रदर्शन गरेपछि मात्र बजारको हाउभाउ बुझिन्छ। अन्य चार्टहरूभन्दा यो धेरै भिन्न रहेको छ किनकी जापानी मैनबत्ति चार्ट हेर्दा हामीले कुनै निश्चित दिनको कुनै कम्पनीको उच्च मूल्य, न्यून मूल्य, खुला मूल्य, बन्द मूल्य एकै चार्टमा देख्न सक्छौँ। मैनबत्तिको जस्तो आकार भएको कारण मैनबत्तिको नामकरण गरिएको हो, किनकी यसमा हामीले मैनबत्तिको जस्तो स्वरुप देख्न सक्छौँ।

candle-stick

माथि चित्रमा २ वटा चित्र देख्न सकिन्छ, एउटा बजार मूल्य बढेको बुलिस मैनबत्ति र र्को बजार घटेको बियरिस मैनबत्ति। दुवै मैनबत्तिमा हामीले टम्म भरिएको हरियो र रातो रङको ‘रियल बडी’ देख्न सक्छौ, जस्को तल र माथि सानो धर्सो रहेको छ, त्यसलाई हामी छाया भन्दछौ। ‘रियल बडी’ सधैं एउटै आकारको हुँदैन, त्यसैले त हामीले विभिन्न आकारको मैनबत्ति निर्माण हुँदा कस्तो निर्णय लिने भनेर अध्ययन गर्नुपर्ने हुन्छ। हरियो मैनबत्तिको आकार निर्माण भएको ‘रियल बडी’मा खुला मूल्य तल हुन्छ भने रातोमा खुला मूल्य माथि हुने गर्दछ। दुबै मैनबत्तिमा उच्च र न्युन मूल्य हुन्छ र कहिले काही न्युन मूल्यबाट बजार सुरु भएर उच्च मूल्यमा नै बजार बन्द हुँदा छाया नदेखिन सक्छ र बियरिस मैनबतीमा उच्च मूल्यबाट बजार सुरु भएर न्युन मूल्यमा बन्द हुँदा पनि छाया देखिदैन।

हामीले अहिलेसम्म मैनबत्ति विश्लेषणको बारेमा संक्षिप्त जानकारी लियौ। अब जापानी मैनबत्तिका बुलिस ढाचा (अंग्रेजीमा प्याटर्न) को विवेचना गर्नेछौँ, जस्का कारण हामीलाई लगानीसम्बन्धी निर्यण गर्न सजिलो हुनेछ।

बुलिस ढाँचाको मैनबत्ति विश्लेषण:

१) ह्यामर (हतौडा)

ह्यामर अर्थात हतौडा, यो हतौडाको जस्तो आकार देखिने हुनाले ‘ह्यामर क्यान्डल स्टिक’ नामाकरण भयो। यो एकल मैनबत्ति ढाँचा भएको मैनबत्ति हो, अर्थात एउटै मैनबत्तिले बजार कता जाँदैछ भनेर अवस्था अवगत गराउँछ । मैनबत्ति विश्लेषण गर्दा ४ चार वटासम्म मैनबत्ति मिलेर बनेको एकल ढाँचा देखा पर्दछन्। बजार लगातार ओरालो लागिरहेको छ र अचानक ह्यामर देखा पर्‍यो भने बजार विपरीत प्रवृतितिर बाटो लाग्न सक्छ, मतलब कि बजार बुलिसतिर अग्रसर हुने सम्भावना उच्च रहन्छ। ह्यामरले निरन्तरता भन्दा पनि ठयाक्कै गति फेरिदिने संकेत दिन्छ। तलको चित्रमा ह्यामरको आकार र बजारले बाटो फेरेको हेर्न सक्छौ।

century-bank-hammer

चित्रमा सेन्चुरी कमर्सियल बैकको क्यान्डल चार्टको पहेलो घेराभित्र ह्यामरको ढाँचा देख्न सकिन्छ। ह्यामर बने पछी सेन्चुरीको सेयर केही सेसन बुलिस भएको छ।

बजार खुलेको सुरुवातमा बिक्रीकर्ता हावी हुन्छन् र बजारलाई सकेको तल झार्छन्। केही समयपछि बजारमा खरिदकर्तालाई लाग्छ कि अब बजार जतिथ तल जानु छ झरी सक्यो अब यही मौकामा खरिद गर्नुपर्छ भनेर तिनीहरूले खरिद गर्न सुरु गर्दछन् र बजार खुल्दा बखतको मूल्य भन्दा पनि माथि पुगेर बजार बन्द हुन्छ र हतौडा जस्तो आकारको मैनबत्ति निर्माण हुन्छ। प्राय म्युचुवल फन्ड, ठूला, संस्थागत लगानीकर्ताहरूले गर्दा हतौडा जस्तो आकार बन्ने गर्दछ।

२) बुलिस पियर्सिङ (साँढे गतिमा छेड्नु)

बुलिस पियर्सिङ डबल क्यान्डल ढाँचाले निर्माण हुने गर्दछ। यदि पहिलो मैनबत्ति रातो छ र त्यस्को दाँयापट्टिको मैनबत्ति हरियो छ भने बुलिस पियर्सिङ क्यान्डल स्टिक भन्न सकिन्छ।

यदि बजार लगातार ओरालो लागिरहेको छ र माथि देखाए जस्तो ढाँचा निर्माण भएको छ भने बजार रिभर्स भएर बुलिस हुने सम्भावना रहन्छ। यस्तो ढाँचा त्यतिबेला निर्माण हुन्छ जब अघिल्लो दिन धेरै मात्रामा बिक्री हुन्छ र त्यसको अर्को दिन त्योभन्दा धेरै खरिद हुन्छ र बजारले बुलिस लय समाउन पुग्छ। बुलिस पियर्सिङमा अघिल्लो दिनको मूल्य भन्दा तल झरेर बजार खुल्छ, र बन्द हुँदा अघिल्लो दिनको क्यान्डलको बजार खुल्दाको मूल्य भन्दा केही तल आएर बन्द हुन्छ तर एभरेजभन्दा माथि पुगेर बजार मूल्य बन्द हुन्छ। तल मैले सिटिजन बैकको क्यान्डल स्टिकको नमुना लिएको छु, चित्रमा हरियो घेराभित्र बुलिस पियर्सिङ देख्न सकिन्छ।

bullis

bullis2

३) मर्निङ स्टार (बिहानको तारा)

मर्निङ स्टार तीन वटा मैनबात्ती मिलेर एउटा ढाँचा निर्माण हुन्छ। बजार लगातर ओरालो लागेको अवस्था छ र पहिलो मैनबत्ति रातो दोस्रो मैनबत्ति प्लस जस्तो देखिने आकार (+) जसलाई हामी डोजी पनि भन्छौ र यो पहिलोभन्दा अलि तल झरेजस्तो गरी बनेको हुन्छ र तेस्रो हरियो मैनबत्ति निर्माण हुन्छ भने हामी त्यसलाई मर्निङ स्टार क्यान्डल स्टिक भन्छौ र यो बुलिस रिभर्सल ढाँचा हो र बजार त्यहाँबाट माथि लाग्न थाल्छ।

morning-star

माथि चित्रमा देख्न सक्छौ, पहिलो मैनबत्तिले धेरै बिक्री भएको देखाउँदछ भने दोस्रोले बजार जतिमा खुलेको हो त्यति नै मूल्यमा बन्द भयो, लगानीकर्ता के गर्ने भनेर कुनै निर्णय गर्न नसकेको भनेर इंगित गर्दछ र तेस्रो मैनबत्तिले बजारमा खरिदकर्ता हावी भएर अब रिभर्सल बुलिस ट्रेन्ड सुरु हुने संकेत दिन्छ। यी तीन मैनबत्ति सँगै देखा परे लगातार ओरालो लागेको बजार बढ्ने सम्भावना छ भनेर भन्न सकिन्छ।

मैले यहाँ महत्वपूर्ण बुलिस क्यान्डल स्टिकको बारेमा मात्र उल्लेख गरेको छु। बुलिसजस्तै बियरिस क्यान्डल स्टिक विश्लेषण पनि हुन्छ, त्यो पनि बुलिस क्यान्डल स्टिक जत्तिकै महत्वपूर्ण छ। मैले यहाँ बुलिस क्यान्डल स्टिकको सबै किसिमको ढाँचाको चर्चा गरेको छैन र अन्य ढाँचाहरू पनि छन र त्यस्का लागि थप अध्ययनको आवश्यकता पर्छ। प्राविधिक विश्लेषणमा सजिलो र बुझ्न सकिने भएको हुँदा म प्राय जापानी मैनबत्ति विश्लेषणलाई धेरै प्रयोग गर्ने गर्दछु। बियरिस क्यान्डल स्टिकको बारेमा फेरि पनि र्को लेखमार्फत तपाईंहरूलाई जानकारी दिनेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *