सेयर बजारमा सतर्कता

Post Date : August 11, 2016 | 5:16 pm

सेयर बजार हाम्रो लागि कमाउने राम्रो थलो हो। तर यसका आफ्ना नियम र आफ्नै किसिमको आचरण हुन्छ। हामीमध्ये धेरैलाई लाग्दो हो कि बजार सँधैं बढी नै राख्छ, सँधैं बुल ट्रेन्ड पछ्याउँछ । त्यसो हुँदो हो त, संसारका सबै मानिस सबै काम छोडेर सेयर बजारमा कमाउन लगानी गर्थे। बजार बढ्नु र घट्नु बजारको नियम नै हो। तर बजार घट्दा आत्तिने र बढ्दा मात्तिने प्रवृत्तीले धेरैलाई निरासाबाहेक केही दिएको छैन र तिनैले बजारलाई जुवाघर र लुटेराको समूहले कमाउने थलो भनेर निस्किन्छन्। नियमित रूपमा बजार बढेर घटेर एक किसिमको सन्तुलन कायम हुनु नै बजारको सुन्दरता र सबल पक्ष हो। त्यसैलाई आत्मसाथ गरी लगानी गर्ने र बढ्दा बेच्ने कार्य गरियो भने राम्रो आम्दानी गर्न सकिन्छ। प्रसंग अब अघिल्लो सातादेखि घटेको बजारतिर लागौं।

गएको साता र यो साता आइतबार र सोमबार लगातार ८ वटा सेसन (कारोबार भएको दिनलाई सेसन भन्ने गरिन्छ) बजार पुरै बियरिस ट्रेन्डमा गयो, १८८१ अंक इन्डेक्स रहेको सेयर बजार एका एक १६७५ मा झर्यो । अझ सोमबार ८८ अंकले बजार घटेर ५% गिरावट आएपछि बजार डेढ घन्टा अगावै सर्किट लागेर बजार बन्द पनि भयो, २०७३ लागेपछि पहिलो पटक बजार त्यसरी बीचैमा कारोबार बन्द भयो। यसरी बजार रातो हुनुका पछाडि कारणहरू प्रसस्तै छन्। कुनै एकै कारण बजार गिरेको भनेर कसैले यकिन साथ भन्न पनि सक्दैन तर बजारको गतिविधि हेरेर केही कारण अवश्य भन्न सकिन्छ।

राष्ट्र बैंकले चेक खरिद गर्न रोक लाएको निर्देशन

२०७३ श्रावण १३ गते एउटा निर्देशिका जारी गर्‍यो जस्मा अब उपरान्त बैकले कसैसँग पनि चेक खरिद गर्न नपाउने नियम कायम गर्न भनियो। यसअघि कुनै पनि चेक क्लयरिङ्गमा पठाएपछि ३ कार्य दिनभित्र राफसाफ गर्ने नियम थियो तर अहिले इसीएस प्रविधी भित्रिएपछि एकै दिन चेक क्लियिर हुने प्राबधान छ। बैंकले आफ्ना ग्राहकलाई कमिसन लिएर चेक खरिद गर्ने सुविधा दिएको थियो। धितो पत्र बजारको एउटा मात्रा क्लियरिङ्ग बैंक, ग्लोबल आईएमई बैंक मात्रा रहेको छ। यो नियम आउनुअघिसम्म उसले ब्रोकरहरूलाई ५ करोडसम्मको चेक खरिद गर्न पाउने सुविधा धिएको थियो र ब्रोकरहरूले त्यसैअनुरूप सेयर खरिद बिक्री, राफसाफ गर्थे। अर्थात ५ करोड सम्मलाई उनीहरूले अन्यत्रबाट पैसाको प्रबन्ध गर्नु पर्दैन थियो । यही प्रबधानले गर्दा दलालहरूलाई आफूसँग भएका सेयर भटाभाट बेच्न पर्ने बाध्यता आइपर्‍यो अनि बजारमा अत्याधिक बिक्रीको चाप वा सेलिङ प्रेसर बढेर गयो। यसरी सेलिङ प्रेसर बढ्दा बजार बिहीबार (१४ श्रावण २०७३) देखि घट्न सुरु भयो।

सेयर बजारमा कालो धन खोजी

अहिलेको नियमलाई मान्ने हो भने १० लाखभन्दा माथि लगानी गर्ने लगानीकर्ताको धनको स्रोत खोज्न सक्ने नियम रहेको छ। कालो धन खोजी कार्यका लागि सरकारले एउटा समिति गठन गरेको थियो, जसका कारण सानादेखी ठूला लगानीकर्ता हच्किए र बजारबाट बाहिरिने क्रम सुरु भो, मार्केट देप्थ हेर्दा छिनछिनमा २० हजार कित्ता सेलिङ देखिनु सामान्य जस्तै भयो। हिजो मात्र त्यो समिति खारेज गरेको समाचार आएपछि मंगलबर मात्र बजारले लय समात्यो।

नियमित करेक्सन

सेयर बजार एक महिनादेखि बिना कुनै आधार वा टेवा उकालोमात्र लगेको थियो र बजारले नियमित करेक्सन खोज्ने हुँदा, ८ सेसन पुरै करेक्सन मोडमा गयो। करेक्सनमा जाँदा सँधैं बजार खेलाडीले खेलाए, भाउ तल पारेर सानालाई बेच्न बाध्य पारे भन्ने धारणा पूर्ण सत्य सँधैं हुँदैन, अहिले लाखौं लगानीकर्ता बजारमा छन्, दैनिक डेढ अरबको कारोबार हुन्छ र यति लामो समय खेलाडीले खेलाउन सक्ने हैसियत अझै देखिन्न।

 नियामक निकायको भूमिका

जब जब बजार उचाई लिँदै जान्छ, नियमक निकाय अर्थात नेपाल धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई सचेत रहन सूचित गर्छ। यसअघिका विज्ञप्तिलाई खासै वास्ता नगरेका लगानीकर्ताले बजार उचाइँमा पुग्न लागेका बेला भएर पनि होला अलि बेवास्ता गर्न सकेनन् र बजार बियरिस ट्रेन्डमा जाने हो कि भन्ने भयले बजार ओरालो लाग्न सुरु गर्यो। सोमबार जब बजार सर्किट लागेर बन्द भयो, बेलुका सेबोनले लगानीकर्तालाई बजार घट्न पर्ने कुनै कारण नभएको र ढुक्क साथ लगानी गर्न आह्वान गरेपछि मंगलबार बजार पुरै द्रुत गतिमा पुग्यो र ५% को सीमा नाघेपछि सर्किट ब्रेक लागेर हरियो अवस्थामा १ घण्टामै बन्द भयो।

 मनोवैज्ञानिक असर  

२०६४ सालमा ११७५ बिन्दु अंक पुगेको नेप्से इन्डेक्स एकाएक २९२ मा झरेको ईतिहास सबैलाई जगजाहेर नै छ। त्यसैलाई आधार मानी अहिले पनि त्यही सिन्ड्रोम बजारमा देखिँदैछ। त्यो बेला पनि बजार उच्च बिन्दुमा पुगी पुरै बजार क्र्यास भएको थियो र यस पटक पनि २ हजारको सेरोफेरोमा बजार तल झर्न सक्ने र टेक्निकल्ली २० अंकको गिरावट सुरु भई प्राविधिक रूपमा बजार बियरिस ट्रेन्ड सुरु हुने आवस्था आउने हो कि भन्ने त्रास अझै पनि कायम छ। जब बजार अघिल्लो हफ्ता पुरै रातै रातो भयो, लगानीकर्तामा त्यही भयले काम गर्‍यो, यो आईतबार बजार सुरुको डेढ घण्टा सुधारिएको पनि थियो तर १ बजेर ३० मिनेट पुग्दै गर्दा सेलिङ प्रेसर धेरै भयो। जति सक्दो चाँडो आफ्नो पुँजी सुरक्षित गर्नतिर लगानीकर्ता देखिए, ४० अंकके बढेको बजार उल्टो घटेर अघिल्लो दिन भन्दा ३ अंकले घट्यो।

माथि उल्लेखित विषयहरू बजारमा देखिएको घटनामा आधारित भएर लेखिएको भए पनि हाल डराउनु पर्ने कुनै कारण देखिन्न त्यसैले धैर्य गरेर अहिले बेच्न हतार नगर्दा राम्रो। बजारका अवस्था केही दिन पर्ख र हेरकै अवस्थामा रहने छ । सेयर बजारमा मन्नगे नाफा गर्नका लागि धैर्यता अनिवार्य छ। साथै आफूले बजारबारे नियमित अध्ययन गर्ने बानी बसाल्ने र सहि समय आएपछि बहिर्गमनका निर्णय लिने हो भने पछि गएर पछुताउनु पर्दैन ।

(पन्थी सेयर लगानीकर्ता हुन्)

Comments on “सेयर बजारमा सतर्कता

Leave a Reply

Your email address will not be published. Required fields are marked *